बैंक अफ काठमाण्डू लिमिटेडले गत आर्थिक वर्षमा एक अर्ब २३ करोड ९० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा मुनाफामा छलाङ मार्दै अर्वपति क्लबमा प्रवेश गरेको हो । अघिल्लो आर्थिक वर्षमा ६५ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको बैंक अफ काठमाण्डूले मुनाफामा ८९ दशमलव १६ प्रतिशत प्रगति हासिल गरेको हो ।
पाँच अर्ब ६२ करोड ९५ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले जगेडाकोषमा ३ अर्ब ३२ करोड ५ लाख रुपैयाँ राखेको छ । बैंकले निक्षेपमा ७ दशमलव ४६ प्रतिशतले वृद्धि गरी ७२ अर्ब १३ करोड ६७ लाख रुपैयाँ संकलन गरी कर्जामा ६२ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ६६ दशमलव ४० प्रतिशतले बढेर २ अर्ब ५६ करोड ६० लाख रुपैयाँ पुगेको छ । त्यस्तै गरी सञ्चालन मुनाफा ६४ दशमलव ११ प्रतिशतले बढेर १ अर्ब ६२ करोड ८२ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रोभिजनमा ३० करोड ६३ लाख रुपैयाँ राखेको छ भने खराबकर्जा १७ करोड ७७ लाख रुपैयाँ उठाएको छ ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक २२ दशमलव ०१ रुपैयाँ, मुल्य आम्दानीको अनुपात वार्षिक २० दशमलव ९९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय ५८ दशमलव ९८ रुपैयाँ र तलरता अनुपात २८ दशमलव ५७ प्रतिशत रहेको छ ।


