April 24th, 2016

हेर्नुस्, बैँक लकरको नालीबेली : सम्पत्तिभन्दा हतियार लुकाउनेको होडबाजी

lockerकेही समय अघि मात्रै नेपालको बैंकको लकरमा छापा मार्दा गोली भेटिएको खबरले निकै चर्चा पायो । यद्यपि, यस्ता घटनाहरु नेपालमा मात्र नभएर विभिन्न धनी तथा विकासशील मुलुकहरुमा पनि हुँदै आइरहेका छन् । सन् २००१ मा अमेरिकामा भएको आतंककारी गतिविधिले गैरकानुनी आर्थिक कारोबारलाई बढावा दियो । जसलाई निस्तेज पार्न सम्पत्ति सुद्धीकरण सम्बन्धि कानुनलाई सशक्त रुपमा प्रस्तुत गर्न थालियो । यसरी, पश्चिमी मुलुकहरुमा पनि बैंकको लकरमा जासुसी गरी छापा मार्ने क्रमको थालनी भयो ।  

अक्टोबर २००९ मा बेलायती पुलिसले ६ हजार सात सय १७ डिपोजिट बक्स अर्थात लकरमाथि छापा मारेको थियो । सन् २००२ मा लागू गरिएको ‘प्रोसिड अफ क्राइम याक्ट’मा गैरकानुनी रूपमा कमाइएको सम्पत्ति सरकारले बरामद गर्न सक्ने प्रावधान छ । जसका आधारमा, प्रहरीले जासुसी अध्ययन गरी छापा मार्दा गैरकानुनी रूपमा राखिएको बन्दुक, गोलीलगायत अनेकौं गहना र नगद बरामद गरेको थियो । छापा मारिएको लकरमा करिब २० प्रतिशत गैरकानुनी रूपमा राखिएको सम्पत्ति भएको प्रमाणित भएको थियो । 

यसरी बढ्यो लकरको लोकप्रियता
परापूर्व कालदेखि नै आफ्नो सम्पत्तिको सुरक्षाका लागि लकरमा राख्ने प्रचलन रहिआएको थियो । कागजको नोटको विकास सँगसँगै अमेरिकी बैंकहरूले सन् १८१४ अघिदेखि खासगरी सुनको भण्डारण गर्नका लागि ‘विशेष निक्षेप’ राख्न सुरुवात गरेका कागजी प्रमाण भेटिन्छन् । पहिले आधुनिक निजी सुरक्षित डिपोजिट बक्स गर्ने कम्पनीको सुरुवात १ मे १८६५ मा न्युयोर्कमा गरिएपछि यसको लोकप्रियता अरु बढेको पाइन्छ । विश्व विकासँगै मानिससँग सम्पत्ति प्रशस्त हुन थालेपछि २०औं शताब्दीमा लकरको विकास तथा प्रयोग झन् झन् बढ्न थाल्यो । 

बैंकको तल्लो तलामा ठुल्ठूला पक्की सेफ (बाकस) भित्र बैंक र आफ्ना खास ग्राहकको सम्पत्ति र मूल्यवान कागजात राख्ने प्रचलनअनुरुप सुरक्षित डिपोजिट बक्स या लकरको विकास भएको थियो । बैंकहरूले आफ्ना ग्राहकको सम्पत्तिको सुरक्षाका लागि प्रतिष्पर्धात्मक रुपमा लकरको प्रयोग बढाउन थाले । यसपछि बैंक मात्र नभएर हुलाक, होटेललगायत निजी कम्पनीले पनि डिपोजिट बक्स राख्न थाले । पछिल्लो समय ठूलाठूला बेलायती बैंकले भने डिपोजिट बक्सको सेवालाई निरन्तर नगर्ने नीति अपनाएपछि यस क्षेत्रमा निजी क्षेत्रहरुले क्रियाशीलता बढाएका छन् । 

एसियालीमाझ बढि लोकप्रिय
अमेरिकामा करिब २ करोड २५ लाख डिपोजिट बक्स रहेको अनुमान गरिन्छ । त्यस्तै, स्विडेनमा ३ जनामा एकको डिपोजिट बक्स छ । फ्रान्समा ५ जनामा एकले डिपोजिट बक्स भाडामा लिएका छन् । हालै प्राप्त तथ्यांकअनुसार एसियाली मूलका मानिसले अरुले भन्दा निकै नै बढी डिपोजिट बक्सको उपयोग गरेको पाइएको छ । यी मूलका मानिसले गरगहनाको प्रयोग धेरै गर्ने र बचत गर्ने बानी भएकाले लकरको प्रयोग पनि बढि भएको हुनसक्ने विज्ञहरुको अनुमान छ ।