एफपिओ जारी गरेर चुक्तापुँजी पुर्याउने जनाएको बैंक अफ काठमाण्डू लिमिटेडको पुँजीवृद्धि योजना अन्यौलमा परेको छ । बैंकद्धारा प्रस्तावित एफपिओ नेपाल धितोपत्र बोर्डबाट स्वीकृत नभएपछि अब पुँजी कसरी पुर्याउने भन्ने अन्यौलता भएको हो ।
बैंकले संस्थापक तथा सर्वसाधारण शेयरधनीको पूँजी संरचना ५१ः४९ प्रतिशत कायम गर्नको लागि संस्थापक एफपिओ बिक्रीको योजना अघि सारेको थियो । बैंकले फेस भ्यालु एक सय रुपैयाँमा २१० रुपैयाँ प्रिमियम थपेर ३१० रुपैयाँमा एफपिओ जारी गर्ने प्रस्ताव गरेको थियो । बैंकले एक अर्ब ९० करोड ९० लाख सात सय ७० रुपैयाँ बराबरको ६१ लाख ५८ हजार ०६७ कित्ता थप संस्थापक सेयर जारी गर्न लागेको थियो । यसका लागि बैंकले सेयर निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई नियुक्त पनि गरिसकेको थियो । तर, धितोपत्र बोर्डले एफपिओ निष्काशनमा रोक लगाउँदै बैंकको एफपिओ प्रस्ताव नै सूचिबाट हटाएको छ ।
सूचिकृत कम्पनीहरुले थप नयाँ संस्थापक सेयर निष्काशन गर्ने सम्बन्धि प्रावधान नरहेकाले बैंक अफ काठमाण्डूलाई एफपिओ निष्कासनमा रोक लगाएको बोर्डले जनाएको छ । यससँगै अब बैंक अफ काठमाण्डूले पुँजीवृद्धिका लागि अर्को विकल्प खोज्नुपर्ने भएको छ ।