गरिमा विकास बैंक र सुभेच्छा विकास बैंकले असार मसान्तदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । मर्जरको प्रकृया टुंगीएको जानकारी गराउँदै गरिमा विकास बैंकका प्रमुख कार्यकारी निर्देशक गोविन्द प्रसाद ढकालले गरिमा बैँकको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेको बताए । नेपाल राष्ट्र बैंकले ल्याएको पुँजी वृद्धि योजना बमोजिम एक आपसमा गाभिने सम्झौता गरेका बैंकहरुले मर्जरको सैद्धान्तिक प्रकृया पूरा गरिसकेका छन् । एक आपसमा गाभिने भएपछि बिहीबारबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुबै बैंकहरुको सेयर कारोबार स्थगित गरिएको छ ।
गरिमा विकास बैंकको चुक्ता पुँजी ८५ करोड ३२ लाख रुपैयाँ रहेको छ भने सुभेच्छा विकास बैंकको २२ करोड रहेको छ । देशभर २७ वटा शाखा सञ्जालहरु रहेको गरिमा विकास बैंक राष्ट्रिय स्तरको बैंक हो । यसको प्रधान कार्यालय पोखरामा रहेको छ । त्यस्तै देशभर ८ वटा शाखाहरु रहेको सुभेच्छा विकास बैंक ३ जिल्ले बैंक हो । यसको प्रधान कार्यालय चितवनमा रहेको छ । पुस मसान्तसम्मको विवरण अनुसार, गरिमासँग ७ अर्ब २५ करोड निक्षेप र ६ अर्ब ३२ करोड कर्जा छ । सुभेच्छासँग २ अर्ब निक्षेप र १ अर्ब ४३ करोड कर्जा लगानी रहेको छ ।
मर्जर प्रकृया पूरा गरेपछि गरिमा विकास बैंकले हरेक बर्ष ५ वटा शाखा विस्तार गर्दै जाने, पुँजी बढाउने र निकट भविष्यमै कमर्सियल बैंकको रुपमा स्थापित हुने लक्ष्य लिएको छ । त्यस्तै बैंकिङ सेवालाई दुर्गम क्षेत्रमा पनि विस्तार गर्ने लक्ष्य बैंकको छ ।
यसैबिच, गरिमा बैंकले हालै काठमाडौंमा नयाँ शाखा विस्तार गर्न लागेको छ भने असारभित्र प्रमुख कार्यालयलाई पनि काठमाडौंमा सार्ने योजना रहेको बैँकले जनाएको छ ।
राष्ट्रियस्तरको विकास बैंक बन्न २०७४ असार मसान्तसम्ममा चुक्ता पुँजी २ अर्व ५० करोड रुपैयाँ पुर्याउनुपर्ने नीति नेपाल राष्ट्र बैंकले लिएको छ । यसअघि, गरिमा विकास बैंक र निलगिरी विकास बैंक एकआपसमा मर्ज भएका थिए ।