(आज) बुधबारबाट २०७३ साल शुभारम्भ भएको छ । बैंकिङ क्षेत्रका हस्तिहरुले यो वर्ष बैंकिङ क्षेत्रमार्फत मुलुकमा उत्पादनशील क्षेत्रमा लगानी बृद्धि गरी मुलुकको अर्थतन्त्रलाई उकास्न भुमिका खेल्ने योजना रहेको बताएका छन् । विभिन्न बैंकर्सहरुको यो वर्षको योजना के रहेछ त ? भन्ने विषयमा बैँकिङ खबर डट कमले बैँकिङ क्षेत्रका केही हस्तीहरुसँग कुराकानी गरेको छ । प्रस्तुत छ, उहाँहरुको भनाइ जस्ताको तस्तै :
वित्तिय क्षेत्रलाई सबैको पहुँचमा पुर्याउने प्रयासलाई निरन्तरता चिन्तामणी शिवाकोटी (डेपुटी गर्भनर) २०७२ साल नेपाली जनताको लागि धेरै दुःखद रह्यो । देशको अर्थतन्त्रमा ठूलो चोट लागेको छ । आगामी बर्ष नेपालीहरुको लागि सुखद बनोस् । वित्तिय पहुँच विस्तार होस् । यसलाई सहयोग मिल्ने गरी राष्ट्र बैंकले २०७३ सालमा वित्तीय क्षेत्रलाई सबैको पहुँचमा पु¥याउने योजना अघि सारेको छ । त्यस्तै कमर्सियल बैंकहरुलाई सक्षम बनाउनको लागि विभिन्न योजनाहरु ल्याएको छ । ती योजनाले प्राथमिकता पाउनेछन् । साथै सरकारले पनि आर्थिक वृद्धिदर बढाउने योजना ल्याएको छ । त्यसको लागि राष्ट्र बैंकले सहयोगिको भूमिका निर्वाह गर्नेछ ।
राष्ट्र बैंकको इमेज अझै उच्च बनाउँछौँ शिवराज श्रेष्ठ (डेपुटी गर्भनर) हामीले राष्ट्र बैंकको इमेज अझै उच्च बनाउन जरुरी छ । बर्ष ०७२ मा जस्तो भएतापनि ०७३ मा राम्रो गरौं भन्ने मेरो मान्यता हो । अग्रजहरुले गरेको भन्दा अझै राम्रो काम गरौं । त्यसको साथसाथै आर्थिक विकासमा योगदान दिने, उत्पादनशील क्षेत्रमा लगानी बढाउने, बैंकप्रति जनताको विश्वास बढाउने, अन्तर्राष्ट्रिय स्तरको नियमन प्रणालीको विकास गराउने वातावरण सिर्जना गर्ने नै बर्ष ०७३ को योजना छ ।
पारदर्शीताको प्रण उपेन्द्र पौडेल (अध्यक्ष, नेपाल बैंकर्स संघ एवं सीईओ, एनएमबी बैंक) २०७२ सालमा भूकम्प, भारतीय नाकाबन्दी र तराई आन्दोलनका कारणले देशको अर्थतन्त्रमा ठूलै धक्का लाग्यो । यसको दिर्घकालीन असर बैंकिङ क्षेत्रमा पनि पर्ने देखिन्छ । ०७३ सालमा हामीले बैंकहरुको सेवालाई थप पारदर्शी बनाएर सबैको पहुँचमा बैंकिङ सेवा प्रवाह गर्नेछौँ । नेपालका अन्य संस्थाहरुको तुलनामा बैंकिङ क्षेत्र पारदर्शी मानिन्छ र यो क्षेत्र पारदर्शी हुन जरुरी पनि छ । बैंकिङ क्षेत्रको पारदर्शीतामा यो वर्ष पनि ध्यान पुर्याउने छाँै । अघिल्लो वर्षकोभन्दा अझै नयाँ र सुदृढ कार्यक्रमहरुमार्फत बैंकलाई अगाडी बढाउनेछौँ ।
बैंक क्षेत्रलाई चुस्त र दुरुस्त बनाउँछौँ कृष्णराज लामिछाने (अध्यक्ष, विकास बैंकर्स संघ) नेपालमा बैंकहरुको संख्या बढ्दै गएतापनि सबै मानिसहरुले बैंकिङ सेवा लिन पाएका छैनन् । यो बर्ष हामी बैंक क्षेत्रलाई थप प्रभावकारी बनाउने, सेवालाई चुस्त र दुरुस्त बनाउने, बैंकको सुशासन व्यवस्थालाई कडा बनाउनेपट्टि केन्द्रित रहनेछौँ । यसबाहेक बार्षिक कार्ययोजनाहरुलाई प्रभावकारी बनाएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।
उत्पादनशील क्षेत्रमा लगानी बढाउँछौँ नारायणदास मानन्धर (सिईओ, प्राइम कमर्सियल बैंक) यो बर्ष हामीले बैंकको लगानी कृषि क्षेत्रमा बढाउने र्छौँ। त्यस्तै देशको अर्थतन्त्र र न्यून आय स्तर भएका मानिसहरुको जीवन स्तर उकास्ने क्षेत्रमा लगानी गर्ने हाम्रो प्रयास रहनेछ । देशको अर्थतन्त्रमा ०७२ सालको ठूलो असर परेको छ । त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रमा परेको छ । त्यसैले ०७३ सालमा बैंकको पुँजीलाई वृद्धि गर्ने र उत्पादनशील क्षेत्रमा लगानी गरि देशको अर्थतन्त्रलाई बौराउने हाम्रो प्रयास यो वर्ष विशेष रहनेछ ।
वित्तीय पहुँच विस्तार गर्छौँ अशोक शेरचन (सिईओ, प्रभु बैंक) २०७३ सालमा बैंकिङ सेवा थप प्रभावकारी बनाउने योजना छ । नेपालमा बैंकिङ क्षेत्र सबै बर्ग र समुदायमा पुग्न सकेको छैनन् । त्यसकारण हामीले ०७३ सालमा बैँकिङ क्षेत्रमा आम मानिसको पहुँच वृद्धि गर्ने, पुँजी वृद्धि गर्ने लक्ष्य राखेका छौँ । त्यस्तै उत्पादनशील क्षेत्रमा लगानी गर्नु पनि यो वर्षभित्र हामीले गर्नैपर्ने काम रहेको छ ।
बैंकिङ क्षेत्रलाई सेवामुखी बनाउँछौँ लिला प्रकाश सिटौला (सिईओ कृषि विकास बैंक) ०७३ सालमा बैंकिङ क्षेत्रलाई अझै पारदर्शी बनाउनको लागि सबै बैंकहरुले सरकारी नीति तथा नियमको निर्दिष्ट पालना गर्नुपर्छ । हालै मात्र ०७३ सालमा कृषि विकास बैंकले आफ्ना गतिविधिहरु नयाँ ढंगवाट सञ्चालन गर्नको लागि आधारशीला पनि तयार पारेको छ । यसको अलवा यो बर्ष सामाजिक अभिमुखीकरण र जनअपेक्षालाई आधार मानेर बैंकिङ कार्य सञ्चालन गर्ने लक्ष्य राखेको कृषि विकास बैँकले लिएको छ ।
देशकै उत्कृष्ट बैंकको रुपमा स्थापित हुनेछौँ किरण कुमार श्रेष्ठ (सिईओ राष्ट्रिय वाणिज्य बैंक) वाणिज्य बैंकले यो वर्षको लागि आफ्ना निर्धारित योजनाहरु अघि सारेको छ । नयाँ वर्षसँगै नयाँ कार्यक्रमको लागि नयाँ बजेट निर्माण गरेका छौँ । हामीले ती योजना अनुसार नै बैंकका कार्यक्रमहरु अघि बढाउँछौँ । त्यसबाहेक आवश्यक पर्ने श्रोतहरु जुटाउँदै कार्यलाई तदारुकताका साथ अघि बढाउन हामी सक्षम छौँ । वाणिज्य बैंकलाई विगतमा भएका कमि तथा कमजोरीलाई सुधारिँदै यो वर्ष देशकै उत्कृष्ट बैंकको रुपमा स्थापित गर्ने लक्ष्य छ ।