April 13th, 2016

कौडीबाट सुरु भएको नेपाली विनिमय : पैसाको चलन नहुँदा यसरी हुन्थ्यो कारोबार

kaudiनेपालमा विनिमयको पहिलो अभ्यासका रुपमा कौडीलाई लिईन्छ । स्थानिय व्यापार विनिमयको साधनको रुपमा मानिसहरु माझ एकताका कौडि निकै नै लोकप्रिय थियो । विस्तारै मानिसहरुले धातु, सुन, चाँदी, तामा, पित्तललाई विनिमयका सूविधाजनक माध्यम बनाउन थाले । त्यसपछि क्रमिक रुपमा मूद्राको महत्व बढ्न थाल्यो । मुद्राको कारोबारले मानव सभ्यताको विकासमा मुद्राले अकल्पनिय योगदान पुर्यायो । मुद्राले वस्तु–विनिमय युगका कठिनाई र असहजतालाई समाप्त पारिदियो । मुद्राको प्रयोगले गर्दा मानिसलाई धनी बन्न, लगानी गर्न र ठूलो पूँजी निर्माण गर्न ज्यादै सजिलो बनायो । मुद्राको प्रयोगले मानिसका सम्पत्तिलाई पनि मुद्रामा परिणत गरेर राख्न सजिलो पारिदियो । त्यति मात्र होइन, आफूसँग भएको सम्पत्ति मानिसले मुद्रामा परिणत गरेर आफूले चाहेको स्थानमा सजिलै लग्न सक्ने स्थिति पनि सृजना गरिदियो । 

यसरी जन्मियो कागजी नोट
नेपालमा आधुनिक कागजी नोटको प्रचलन राजा त्रिभुवनको पालामा शुरु भयो । कागजी नोटको प्रारम्भसँगै धातुका मुद्राहरु प्रतिस्थापन गर्दै लगियो । नेपाल राष्ट्र बैंकको स्थापनासँगै त्यसताका प्रचलनमा रहेका भारतीय नोटहरुलाई पनि प्रतिस्थापन गर्दै लगियो । हाल नेपालमा नेपाली नोट (मुद्रा) नै आधिकारिक विनिमयको माध्यम बन्दै आएको छ । हाल नेपालमा पहिलेका राजाहरुको तस्वीर अङ्कित कागजी नोटहरु केही मात्रामा मात्र बाँकी रहेका छन् । ती नोटहरुका साथै देशको राजनैतिक परिवर्तन सँगसँगै नेपालमा गणतन्त्र स्थापना भएपछी प्रचलित कागजी नोटहरुमा देशका प्राकृतिक सम्पदाहरु अङ्कित तस्वीरहरु राख्ने गरिएको छ । 

मुद्रा सुरु हुनुभन्दा पहिले
मुद्राको उत्पत्ति विकास र प्रयोग हुनुभन्दा पहिले कुनै वस्तु प्राप्त गर्न आफूसँग भएको वस्तु र आफूलाई आवश्यक वस्तु साटेर कारोबार गर्ने प्रचलन थियो । गहुँ उत्पादन गरेको व्यक्तिलाई धान चाहिएको अवस्थामा आजको युगमा जस्तो किनबेच गर्ने परिपाटि थिएन । गहुँ उत्पादन गरेको व्यक्तिले धान भएको र गहुँ चाहिएको व्यक्ति खोजेर उसँग कारोबार गर्नुपथ्र्यो । यस्तो स्थितिमा गहुँ साट्ने व्यक्तिले धान साट्न चाहेको व्यक्ति भेट्टाउन निकै मुस्किल हुन्थ्यो ।