मेगा बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५४ करोड २४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६८ दशमलव ०३ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मेगाले ३२ करोड २८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ५८ करोड २३ लाख रुपैयाँ चुक्तापुँजी भएको बैंकले जगेडाकोषमा एक अर्ब दुई करोड ८७ लाख रुपैयाँ राखेको छ । निक्षेपमा ४७ दशमलव ४८ प्रतिशतले वृद्धि गरी ३८ अर्ब ४४ करोड ३४ लाख रुपैयाँ संकलन गरेको बैंकले कर्जामा ५९ दशमलव ४८ प्रतिशत बढाएर ३४ अर्ब ९३ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी ५८ दशमलव ०१ प्रतिशतले बढेर एक अर्ब १४ करोड ८५ लाख रुपैयाँ पुगेको छ । त्यस्तै संचालन मुनाफा ७४ दशमलव ५८ प्रतिशतले बढेर ८० करोड २९ लाख रुपैयाँ पुगेको छ ।
यो अवधिमा चार करोड ३३ लाख रुपैयाँ खराबकर्जा उठाएको बैंकले प्रोभिजनमा १७ करोड १९ लाख रुपैयाँ राखेको छ । बैंकको निष्कृय कर्जा शुन्य दशमलव ३८ प्रतिशतले घटेर शुन्य दशमलव ८७ प्रतिशत कायम भएको छ भने जोखिमयुक्त सम्पत्ति एक दशमलव ३७ प्रतिशतले बढेर १४ दशमलव ११ प्रतिशत पुगेको छ ।
चैत्र मसान्तसम्ममा मेगा बैंकको प्रतिसेयर आम्दानी ११ दशमलव ८४ रुपैयाँ र प्रतिसेयर आम्दानी १५ दशमलव ८८ रुपैयाँ, मुल्य आम्दानीको अनुपात २८ दशमलव ८३ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २२ दशमलव ४५ रुपैयाँ र तरलता अनुपात २१ दशमलव १८ प्रतिशत रहेको छ ।