मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा आठ करोड २७ लाख १८ हजार रुपैंया खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा मितेरीले छ करोड ४७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
गत आर्थिक वर्षको तुलनामा ८० प्रतिशत वृद्धि गरेर चुक्तापुँजी ३८ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकको खुद व्याज आम्दानी १४ करोड ३८ लाख रुपैयाँ रहेको छ । जबकि, गत आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १० करोड ८३ लाख रुपैयाँ थियो । त्यस्तै, बैंकले सर्वसाधारणको दुई अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरेको छ, जुन गत वर्षको तुलनामा ४५ करोड रुपैयाँले बढी हो । निक्षेप संकलन तथा कर्जा प्रवाहमा आएको सुधारसँगै सञ्चालन मुनाफामा आएको सुधारले बैंकको खुद नाफा बढेको हो ।
बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिसेयर आम्दानी २९ रुपैंया कायम गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा उसको प्रतिसेयर आम्दानी ४० रुपैयाँ ८६ पैसा रहेको थियो । खराव कर्जा गत बर्ष ०.३६ बाट ०.३४ प्रतिशतमा झारेको बैंकले जगेडा कोषलाई १० करोड ७६ लाख रुपैयाँबाट बढाएर १७ करोड ५५ लाख रुपैयाँ बनाएको छ । त्यस्तै, बैंकको पूँजी पर्याप्तता अनुपात २१.५६ प्रतिशत, तरलता अनुपात ३० दशमलव ७० प्रतिशत र प्रतिसेयर नेटवर्थ एक सय ४६ रुपैंया १७ पैसा रहेको छ ।