April 6th, 2016

पनामा प्रकरणमा नेपाली संलग्नता : सत्य पत्ता लगाएरै छाड्न राष्ट्र बैंक सक्रिय    

panama papersनेपाल राष्ट्र बैंकले पनामा गोप्य दस्तावेज खुलासा प्रकरणमा नेपालीको संलग्नता रहे/नरहेको पत्ता लगाउन तिब्र पहल गर्ने भएको छ । त्यसको लागि बैंकले अन्तर्राष्ट्रिय विभिन्न बैंकहरुबाट नेपालीहरुको खातासम्बन्धी आवश्यक सुचना संकलन गर्ने भएको छ । विश्वका चर्चित र शक्तिशाली व्यक्तिहरुको कर छलीसम्बन्धी पनामाको ‘मोसाक फोन्सेका’मा सात जना नेपालीको पनि संलग्नता रहेको बाहिर आएपछि त्यसबारे छलफल गर्न सम्पति शुद्धिकरण अनुसन्धान विभागले बुधबार मध्याह्न बोलाएको थियो । सो छलफलका क्रममा राष्ट्र बैंकका सहायक निर्देशक हरि नेपालले आन्तरीक रुपमा बैंक तथा वित्तिय संस्थाहरुलाई बैंक खाता अध्ययन गर्न मंगलबार नै निर्देशन दिइसकेको जानकारी गराउँदै अन्तर्राष्ट्रिय बैंकहरुसंग सुचनाका लागि सहकार्य गरेरै भएपनि सत्य पत्ता लगाउन सहयोग गर्ने बताएको शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक दामोदर रेग्मीले जानकारी दिए । उनले भने ‘राष्ट्र बैंकका तर्फबाट हरि नेपालजीले आवश्यक छानवीन गरि सत्य तथ्य बाहिर ल्याउन समन्वय गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।’  

नेपालीको संलग्नता रहेको बारे खुलासा भएपनि त्यसबारे सरकारी तबरबाट छानवीन गरिसकेपछि मात्र सत्य बाहिर आउने रेग्मीले बताए । उनले भने, ‘सरकारी निकायले हल्लाको पछि लागेर हुँदैन, आवश्यक छानवीन गरि सत्य बाहिर आएपछि यसै हो भन्न सकिन्छ । त्यहीपनि नेपालीहरुले विदेशी बैंकमा बैधानिक तबरले रकम राखेका छन् कि अवैधानिक भन्ने कुरा पनि ख्याल गर्नुपर्ने हुन्छ ।’

विश्वका चर्चित र शक्तिशाली व्यक्तिहरुको कर छलीसम्बन्धी पनामाको मोसाक फोन्सेकामा सात नेपालीहरु पनि रहेको भन्ने बाहिर आएपछि त्यसबारे सत्य तथ्य छानवीनका लागि आवश्यक प्रक्रिया अगाडी बढाउन सम्पति शुद्धिकरण अनुसन्धान विभागले नेपाल राष्ट्र बैंकसहित नेपाल प्रहरी, आन्तरीक राजस्व विभाग र अर्थ मन्त्रलायका अधिकारीलाई विभागको कार्यलयमा बोलाएर छलफल गरेको थियो । 

यसअघि मंगलबार राष्ट्र बैंकले पनामाको ‘मोसाक फोन्सेका’ बाट खुलासा भएका नामहरुको नेपालमा रहेको खाताबारे अध्ययन गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको थियो । खुलासा भएका व्यक्तिहरुले नेपालमा पनि कुनै व्यवसाय संचालनमा ल्याएको हुन सक्नेतर्फ सचेत हुँदै राष्ट्र बैंकले त्यस्ता खाताहरुबारे अध्ययन गर्न निर्देशन दिएको हो ।