इजी लिंक रेमिट्यान्स प्रालि र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनाल र मुक्तिनाथ विकास बैंकका नायब कार्यकारी प्रमुख प्रद्मुमन पोखरेलले हस्ताक्षर गरेका छन् । यो सम्झौतापछि अब विश्वका विभिन्न देशबाट इजी लिंक रेमिट्यान्स मार्फत आएको रकम मुक्तिनाथ विकास बैंकका देशभरी रहेका ५५ शाखाहरुबाट सजिलै भुक्तानी लिन सकिने भएको छ ।
सम्झौतापछि इजी लिंक रेमिट्यान्सका प्रबन्धक दिपेन्द्र खनालले विदेशबाट पठाएको पैसालाई छिटो छरितो तरिकाले सेवाग्राहीसम्म पुर्याउन यो सम्झौताले थप सहज बनाउने जानकारी दिए । यो सम्झौतासंगै विश्वका विभिन्न मुलकबाट इजी लिंक रेमिट्यान्स मार्फत पठाएको रकम अब इजी लिंक रेमिट्यान्सका २२ सय भन्दा बढी एजेन्ट, सब–एजेन्ट तथा सम्झौता भएका विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट भुक्तानी लिन सकिने कम्पनीका प्रबन्धक खनालले जानकारी गराए ।
आफ्ना सेवाग्राहीलाई थप सहज र सुलभ बनाउँदै लैजान देशभरका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुका साथै नीजि कम्पनीहरुसँग पनि रेमिट्यान्स भुक्तानी सम्झौतालाई तिब्र पारेको उनले बताए । कम्पनीले अन्य देशबाट समेत रेमिट्यान्स भित्राउन तिब्र रुपमा अघि बढिरहेको जानकारी खनालले गराए ।
इजी लिंक रेमिट्यान्सले “रेमिट्यान्सको रकम उत्पादनशील क्षेत्रमा लगानी गरौं” भन्ने मुल नाराका विगत १८ बर्षदेखि विश्वका विभिन्न मलुकहरुबाट नेपालमा रेमिट्यान्स भित्रयाइरहेको छ ।
