Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

बैंक छैन, महंगो भएपनि साहुको कर्जा नै प्यारो

२०७३ फाल्गुन १८ गते

नेपालका पहाडी तथा तराईका कतिपय ठाउँहरुमा बैंकिङ पहुँच नपुग्दा कर्जा लेनदेनमा ठूलो समस्या हुने गरेको छ । कर्जा प्रवाह गर्नका लागि बैंक तथा वित्तीय संस्थाहरु नभएका कारण कतिपय ठाउँहरुमा चर्को ब्याजदरमा कर्जा लेनदेन हुने गरेको छ । उदयपुर जिल्लाको रामपुर ठोक्सिला भन्ने गाविसमा अहिलेसम्म कुनै पनि बैंकको शाखा छैन । जिल्लाको सबैभन्दा बढी जनसंख्या भएको गाविस रामपुर ठोक्सिलामा बैंकिङ शाखा नहुँदा त्यहाँका मानिसहरुलाई वित्तीय कारोबार गर्न निकै सास्ति झेल्नुपरेको छ । रामपुर चौकमा राष्ट्रिय वाणिज्य बैंकको एउटा शाखा रहित बैंकिङ सेवा कार्यालय भए पनि  त्यसले बित्तीय कारोबार गर्न त्यति सहज भने महशुस गराएको छैन् । बैंकको पहुँच नहुँदा त्यहाँका सर्वसाधरण अझै पनि कर्जा लिन साहू महाजनकहाँ धाउन बाध्य छन् । रामपुरका कपडा व्यापारी सरदबहादुर कोइराला भन्छन्– ‘बैंक भएको भए हामीलाई साहुबाट ऋण लिँदाजस्तो चर्को ब्याजपनि पर्ने थिएन ।’ उनका अनुसार अप्ठेरो परेकाहरुले त साहुबाट सयकडा ४ सम्म ब्याज पर्ने गरी ऋण लिने गर्छन् ।  

रामपुर गाविसमा केहि बैंक नभए पनि केहि सहकारी छन् । तर बित्तीय साक्षरताको कमिले स्थानीय सहकारी भन्दा पनि साहू महाजनबाटै कर्जा लिने गर्दछन् । त्यस ठाउँमा ब्याजदर पनि डरलाग्दो छ । साहू महाजनबाट स्थानीयले धेरै जसो ४४ प्रतिशतमा ऋण लिने गर्दछन् । त्यो भन्दा सस्तो भनेको न्युनतम ३६ प्रतिशत हो । यति महंगो ब्याजदरमा साहूबाट ऋण लिएका मान्छे ब्याज बढेर तिर्नलाई समस्यामा पर्छन् । नगद तिर्न नसके पछि भएका जायजेथाबाट नै साहू महाजनले आफ्नो पैसा उठाउने गरेको कोइरालाले बताए । उदयपुरकै मैनामैनी, बबला, भलायडाडाँ लगायतका गाविसमा पनि डरलाग्दो कहानी छ । ती क्षेत्रहरुमा एउटा सहकारी समेत छैन। भौगोलिक विकटताले गर्दा त्यहाँ बैंकले शाखा खोल्न सकेका छैनन् । त्यहाँका स्थानीयलाई वित्तीय कारोवार सम्बन्धी जनचेतना नभएका कारण बैंकिङ पहुँचबाट टाढा रहेको पाइन्छ । उदयपुरको रामपुरजस्तै नेपालमा थुप्रै ठाउँहरु छन्, जहाँ वित्तीय साक्षरता र बैंकिङ पहुँच नहुँदा सर्वसाधरणहरु पाउनुपर्ने फाइदाबाट समेत बञ्चित भएका छन् ।
 
सामाजिक सुरक्षा भत्तामा पनि समस्या
नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा बैकिङ्ग प्रणालीबाट वितरण गर्नु पर्ने नीति ल्याएको भए पनि त्यो अन्नतः असफल भएको छ । सरकारले सामाजिक सुरक्षा भत्ता वितरणमा पारदर्शिता हुने भन्दै बैंक खाता मार्फत रकम भुक्तानी गर्ने नीति ल्याएको थियो । सरकारको नीति आखिर सफल हुन सकेन । नेपालको धेरै जसो जिल्लाहरुका ग्रामिण क्षेत्रमा बैंकका शाखा विस्तर हुन नसकेका कारण सरकारको नीति असफल भएको हो । सरकारले ल्याएको नीति अनुसार नै शहरी क्षेत्रमा बैंक खाता मार्फत रकम भुक्तानी गर्ने नियम लागू भएको छ । शहरी क्षेत्रमा सामाजिक सुरक्षा भत्ता बैंकबाट नै भुक्तानी दिने व्यवस्था गरिरहेको भए पनि बैंकिङ्ग सेवालाई सेवाग्राहीले राम्रोसंग बुझ्न सकेका छै्रनन् । सामाजिक सुरक्षा भत्ता पाउने ज्येष्ठ नागरिक, एकल महिलाा तथा अपांग लगायतले बैंकलाई पैसा झिक्ने भाडोको रुपमा मात्र प्रयोग गर्ने गरेका छन् । आफ्नो खातामा रकम जम्मा भएको जानकारी पाउने वित्तिकै रकम निकाल्न दगुरी हाल्छन् सेवाग्राही । बैंकमा रकम जम्मा भइराखे आफैलाई फाइदा हुन्छ भन्ने बिषयमा ज्ञान नभएका कारण उनीहरु पैसा निकाल्न बैंक तिर लागि हाल्छन् । आफ्नो खातामा जम्मा भएको रकम आवश्यकता परेको बेला मात्रै निकाल्नु पर्छ र खातामा रहि राखे त्यसको ब्याज समेत पाइन्छ भन्ने उनीहरुको सोचाई हुँदैन । जानकारी पाए सम्म एक घण्टा पनि बैंकमा रकम जम्मा नहोस भन्ने धेरै जसो भत्ता लिने व्यक्तिहरुको चाहाना हुन्छ ।
 
बैंक नहुँदा गाविस सचिवको मनपरी
ग्रामिण भेगमा बैंक नहुँदा सामाजिक सुरक्षा वितरणमा गाविस सचिवहरुले मनपरी गर्ने गरेका छन् । सामाजिक सुरक्षा भत्ता वितरणमा गाविस सचिवहरुबाटै अपारदर्शिता बढिरहेको छ । गाविस सचिवहरुले भत्ता पाइरहेका मान्छेको मृत्यु भएमा मृत्यु दर्ता नै गर्दैनन् । देखावटी रुपमा मृतकका आफन्तलाई मृत्यु दर्ताको प्रमाण पत्र दिए पनि सामाजिक सुरक्षा भत्ताको लगतबाट लगत कट्टा गर्दैनन् । गाविस सचिवले मृत्यु भइसकेका मानिसलाई जिल्ला विकास समितिको लगतमा भने जिवितै बनाउने गरेका छन् । मृत्यु भइसके पछि लगतबाट नहटाउने र मृत्यु भइसकेका मान्छेको नाममा आएको सामाजिक सुरक्षा भत्ता गाविस सचिवले नै किर्ते गरेर बुझ्ने गरेका छन् । यस प्रकारका घटनाबारे सर्वत्र चर्चा भए पछि पारदर्शी बनाउन गत बर्ष सरकारले ल्याएको बैंक मार्फत भत्ता भुक्तानी नीति पनि असफल हुँदा गाविस सचिवले गर्ने यस्ता प्रकारका मनमरी भने यथावत नै छ ।