
बैंकिङ खबर / गत भदौ १० गते रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका करिब ३ सय घरपरिवारलाई पूर्वमन्त्री भगबती चौधरीको पहलमा राहत सामग्री वितरण गरिएको छ । बाढीबाट घरबार तथा सम्पत्ति गुमाएर अस्थायी सेल्टरमा बस्दै आएका परिवारलाई राहत वितरणसँगै दीर्घकालीन पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता समेत चौधरीले जनाएकी छन् ।
शनिबार नुवाकोटको विदुर नगरपालिका–५ का ४१ घरपरिवार तथा विदुर–१ देवीघाट क्षेत्रमा अस्थायी सेल्टरमा बसिरहेका बाढीपीडितलाई खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री वितरण गरिएको हो । राहतमा चामल, दाल, नुन, तेल, खानेपानीका जार, सरसफाइका सामग्रीलगायत आवश्यक सामग्री रहेका छन् । करिब १० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरिएको फरवार्ड ग्रुपले जनाएको छ ।
फरवार्ड ग्रुप, फरवार्ड माइक्रोफाइनान्स तथा ग्रामीण महिला उत्सुकता विकास मञ्चको सहकार्य र समन्वयमा राहत वितरण गरिएको हो । कार्यक्रममा इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीता चौधरीले समेत खाद्यान्न सहयोग गरेकी थिइन् ।
राहत रसुवाको उत्तरगया गाउँपालिकाका बाढी प्रभावित नागरिक तथा नुवाकोटको देवीघाट र त्रिशूली बजार क्षेत्रमा विस्थापित भएर बसेका परिवारलाई वितरण गरिएको थियो । टोलीले बट्टार बजार क्षेत्रमा नेशनल भोलेन्टियर्सले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविर तथा खाना अभियानलाई समेत सहयोग गरेको थियो ।
‘राहतभन्दा स्थायी पुनःस्थापना आवश्यक’
राहत लिन पुगेका बाढीपीडितले तत्कालीन राहतसँगै स्थायी पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । बाढीका कारण घर तथा सम्पत्ति गुमाएका परिवार अस्थायी सेल्टरमा बस्न बाध्य रहेको र कतिपय स्थानमा खानेपानी, शौचालय तथा आवतजावतको समेत समस्या रहेको उनीहरूको गुनासो छ ।
त्रिशूली नदीमाथिका पुलहरू बाढीले क्षतिग्रस्त भएपछि आवतजावत थप कठिन बनेको पीडितहरूले बताएका छन् । कतिपय स्थानमा नदी पार गर्न तुइन प्रयोग गर्नुपर्ने र लामो समयसम्म कुर्नुपर्ने अवस्था रहेको उनीहरूको भनाइ छ । रसुवाको टिमुरे, बेत्रावतीलगायत क्षेत्रमा रहेका प्रभावितको अवस्था अझ कठिन रहेको उनीहरूले बताएका छन् ।
नुवाकोटमा विस्थापित दलित समुदायका परिवारले समेत आवासको समस्या भोगिरहेको बताएका छन् । बाढीमा घर तथा सम्पत्ति गुमाएका कतिपय परिवारले बजार क्षेत्रमा कोठा भाडामा लिनसमेत कठिनाइ भएको गुनासो गरेका छन् । विद्यालयका संरचना क्षतिग्रस्त हुँदा बालबालिकाको पढाइ प्रभावित भएको र कतिपय बालबालिका अस्थायी होल्डिङ सेन्टरमै बस्न बाध्य भएको पीडित परिवारले बताएका छन् ।
रसुवाको उत्तरगया गाउँपालिकाका विस्थापित परिवारले आफूहरू पुरानै स्थानमा फर्किन सक्ने अवस्था नरहेको भन्दै सुरक्षित स्थानमा स्थायी आवासको व्यवस्था गर्न आग्रह गरेका छन् । अस्थायी सेल्टरसमेत निश्चित अवधिपछि खाली गर्नुपर्ने भएकाले आफूहरूको भविष्य अन्योलमा रहेको उनीहरूको गुनासो छ ।
जग्गा सरकारले दिए घर बनाउने प्रतिबद्धता
पीडितहरूको समस्या सुनेपछि पूर्वमन्त्री चौधरीले विपद्का बेला राज्य नागरिकको अभिभावकका रूपमा उपस्थित हुनुपर्ने बताइन् । उनले सरकारले सुरक्षित स्थानमा जग्गा व्यवस्थापन गरिदिए करिब ५ सय बाढी प्रभावित परिवारका लागि आफ्नो तर्फबाट घर निर्माण गर्न पहल गर्ने बताएकी छन् ।
‘यस्तै बेला हो राज्य देखिनुपर्ने । जनता आफ्नो सर्वस्व गुमाएर छट्पटाइरहेको अवस्थामा राज्य अभिभावक हुनुपर्छ । सरकारले जग्गा व्यवस्थापन गरिदिए हामी करिब ५ सय घरपरिवारका लागि सुरक्षित घर निर्माण गर्न तयार छौँ,’ चौधरीले भनिन् ।
उनले स्थानीय तहका जनप्रतिनिधिले प्रभावित नागरिकको समस्या नजिकबाट बुझेर प्रदेश र संघ सरकारसँग समन्वय गर्दै पुनःस्थापना तथा पुनर्निर्माणका कार्यक्रम अघि बढाउनुपर्ने बताइन् ।
बाढीबाट त्रिशूली बजारलगायत क्षेत्रमा भएको क्षतिको निरीक्षण गर्दै चौधरीले जोखिमयुक्त स्थानमा पुनः बसोबास गराउनुभन्दा सुरक्षित वैकल्पिक बस्ती विकास गर्नुपर्नेमा जोड दिइन् । सम्भव नभएका स्थानमा सुरक्षित स्थान पहिचान गरी स्थायी आवास, खानेपानी, शिक्षा, स्वास्थ्य तथा आवतजावतको दीर्घकालीन व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
राहत कोषको रकम प्रभावितसम्म पुर्याउन आग्रह
चौधरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा देश–विदेशबाट संकलित रकमलाई पारदर्शी र प्रभावकारी रूपमा प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणमा परिचालन गर्नुपर्ने बताइन् ।
‘पीडित नागरिकले राज्य छ भन्ने अनुभूति गर्न पाउनुपर्छ । राहतले केही समयको समस्या समाधान गर्न सक्छ, तर सुरक्षित भविष्यका लागि स्थायी आवास, शिक्षा, खानेपानी, स्वास्थ्य र आवतजावतको दीर्घकालीन व्यवस्था आवश्यक छ,’ उनले भनिन् ।
उनले बाढी प्रभावित परिवारलाई पुनः सामान्य जीवनमा फर्काउन सरकारसँगै निजी क्षेत्र, सामाजिक संस्था र नागरिक समाजको सहकार्य आवश्यक रहेको बताइन् । आफ्नो तर्फबाट पनि प्रभावित नागरिकको सुरक्षित तथा स्थायी बसोबासका लागि आवश्यक पहल जारी राख्ने प्रतिबद्धता उनले जनाइन् ।
राहत सामग्री प्राप्त गरेका पीडित परिवारले संकटका समयमा सहयोग लिएर आफूहरूबीच आएको भन्दै चौधरी तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गरेका छन् । उनीहरूले तत्कालीन राहतसँगै अब स्थायी पुनःस्थापना र क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।