Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
विशेष

चुक्ता पुँजीमा बलिया देखिएका पाँच वाणिज्य बैंकहरु

admin २०७३ फाल्गुन १ गते
सेयर:

डेढ बर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुको चुक्ता पुँजी दुई अर्बबाट आठ अर्ब रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो । पुँजीवृद्धिका लागि राष्ट्र बैंकले ०७४ असार मसान्तसम्मको समय दिएको थियो । उक्त समय सीमा पूरा हुन अब पाँच महिना मात्रै बाँकी छ । यो अवधिमा बैंकहरुले मर्जर, एक्विजिसन, हकप्रद सेयर र बोनस सेयर जारी गरेर पुँजी थप गरिरहेका छन् । यसैबीच, चुक्तापुँजीको आधारमा पाँच वाणिज्य बैंकहरु बलिया देखिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंक

नेपाल राष्ट्र बैंकको पुँजी वृद्धिको नीति अनुरुप आठ अर्ब चुक्तापुँजी पुर्याउने पहिलो बैंक हो, नेपाल इन्भेष्टमेन्ट बैंक । निजीस्तरको नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी हाल आठ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । यो चुक्तापुँजी हाल सञ्चालनमा रहेका सबै बैंकहरुभन्दा बढी हो । बैंकले केही महिनाअघि गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गरेर पुँजी पुर्याएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक

नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक चुक्तापुँजीका हिसाबले सबैभन्दा बलियो देखिएको बैंक हो । हाल यो बैंकको चुक्तापुँजी आठ अर्ब ५८ करोड रुपैयाँ रहेको छ । राष्ट्र बैंकले पुँजीवृद्धिको योजना अघि सार्नुअघि नै आठ अर्बभन्दा बढी चुक्तापुँजी पुर्याइसकेको बैंकले थप सबल बन्नका लागि सरकारी स्वामित्वकै एनआईडीसी डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । एनआईडीसीको चुक्तापुँजी ४१ करोड ५८ लाख २३ हजार रुपैयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंक

हालै प्यासिफिक डेभलपमेन्ट बैंकलाई एक्वायर गरेर ग्लोबल आईएमई बैंकले सात अर्ब १५ करोड रुपैयाँ चुक्तापुँजी पुर्याएको छ । साथमा बैंकले ७८ करोड ८५ लाख रुपैयाँ चुक्तापुँजी भएको रिलायबल डेभलपमेन्ट बैंकलाई खरिद गर्दैछ । जसपश्चात् बैंकको चुक्तापुँजी आठ अर्ब रुपैयाँ नाघ्नेछ । यसअघि नै बैंकले साविकको कर्मज एण्ड ट्रष्ट बैंक, आईएमई फाइनान्सियल इन्स्टिच्युसन, गुल्मी विकास बैंक, सोसियल डेभलपमेन्ट बैंक र लर्ड बुद्ध फाईनान्सलाई गाभिसकेको छ । रिलायबल फाइनान्स, शुभ लक्ष्मी फाइनान्स, नेपाल कञ्जुरम डेभलपमेण्ट बैंकसँग मर्जर भई रिलायबल डेभलपमेन्ट बैंक बनेकाले यो एक्विजिसन सम्पन्न भए पछि १० वटा बैंक वित्तीय संस्था मर्जर÷एक्विजिसन भई बनेको पहिलो बैंक हुने छ ।

नेपाल बैंक

नेपाल बैंकमा हाल चुक्ता पूँजीको ६२.२१ प्रतिशत नेपाल सरकारको र बाँकी बैंक कर्मचारी तथा सर्वसाधारणको सेयर स्वामित्व रहेको नेपाल बैंकको चुक्तापुँजी छ अर्ब ४९ करोड ९४ लाख ७८ हजार रुपैयाँ रहेको छ । पुँजीवृद्धिका लागि बैंकले एक करोड ५४ लाख ३१ हजार आठ सय ४० कित्ता हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । जसपश्चात् बैंकको चुक्तापुँजी आठ अर्ब नाघ्नेछ ।

प्रभु बैंक

चुक्तापुँजीका आधारमा बलिया देखिएका बैंकहरुमध्ये अर्को एउटा बैंक हो प्रभु बैंक । ग्राण्ड बैंकलाई मर्ज गरेर पाँच अर्ब ८८ करोड १४ लाख दुई हजार रुपैयाँ चुक्तापुँजी पुर्याएको बैंकले ४० प्रतिशत हकप्रद सेयर निष्काशन गर्दैछ । हकप्रद निष्काशन गर्ने निर्णय बैंकको १५औँ वार्षिक साधारणसभाले पारित गरिसकेको छ । उक्त हकप्रद सेयर जारी गरेपछि प्रभुको चुक्तापुँजी आठ अर्ब २३ करोड ३९ लाख ६२ हजार आठ सय रुपैयाँ पुग्नेछ ।

 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।