२०७३ माघ १७ गते

मिथिला लघुवित्तको नाफामा झिनो वृद्धि, सञ्चालन मुनाफा घट्यो

मिथिला लघुवित्त विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ७१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जम्मा एक दशमलव ६२ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिलाले ७० लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

पाँच करोड ७३ लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले निक्षेपमा एक सय नौ दशमलव ७५ प्रतिशतले वृद्धि गरी आठ करोड ६८ लाख रुपैयाँ संकलन गरेको छ । बैंकले कर्जामा ५५ दशमलव ७९ प्रतिशतले वृद्धि गरी ३६ करोड ३० लाख रुपैयाँ लगानी गरेको छ । बैंकको खुद व्याज आम्दानी २५ प्रतिशतले बढेर दुई करोड पाँच लाख रुपैयाँ पुगेको छ । संचालन मुनाफा भने एक दशमलव ८२ प्रतिशतले घटेर ६९ लाख रुपैयाँ पुगेको छ । 

निष्कृय कर्जा तीन दशमलव ५३ प्रतिशत र जोखिमयुक्त सम्पत्ति १३ दशमलव ६८ प्रतिशत रहेको बैंकले प्रोभिजनमा ३५ लाख रुपैयाँ राखेको छ भने जगेडाकोषमा एक करोड २२ लाख रुपैयाँ राखेको छ । मिथिला लघुवित्तको प्रतिसेयर आम्दानी १५ दशमलव ९५ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५३ दशमलव २८ गुणा, प्रतिसेयर नेटवर्थ एक सय २१ दशमलव ३८ रुपैयाँ र तरलता अनुपात १० दशमलव ६३ प्रतिशत रहेको छ ।