२०७३ माघ १६ गते

मुलुकमा लगानीका लागि राजनीतिक स्थायीत्व आवश्यक छ (इमर्जिङ नेपालका सीईओ डा.विनोद आत्रेयसँगको अन्तरवार्ता)

विनोद आत्रेय इमर्जिङ नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन् । इमर्जिङ नेपाल लिमिटेड सर्वसाधरणको समेत लगानी रहेको एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ हो । पछिल्लो समय इमर्जिङ नेपालले उत्पादन मूलक क्षेत्रमा लगानी गर्न विभिन्न प्रक्रियाहरु अपनाइरहेको छ । राष्ट्र बैंकले परिकल्पना गरेको पूर्वाधार विकास बैंकको स्थापनाका लागि यस कम्पनीको नेतृत्वदायी भूमिका रहने अपेक्षा गरिएको छ । यसै सन्दर्भमा बैंकिङ खबरका रोयल आचार्यले सिइओ आत्रेयसँग गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिन्छ ।  

इमर्जिङ नेपालले अहिले के गरिरहेको छ ?
इमर्जिङ नेपाल भनेको पब्लिक पार्टनरसिप भएको एउटा होल्डिङ कम्पनी हो । यसको मुख्य उद्देश्य भनेको नै देशको विकासका पूर्वाधारहरुमा लगानी गर्नु हो । पूर्वाधार भन्ने वित्तिकै कृषिसँग सम्बन्धित पूर्वाधारहरु पनि हुन सक्दछ, उद्योग तथा पर्यटनसँग सम्बन्धित पूर्वाधारहरु पनि हुन सक्दछन् । आर्थिक विकासका पूर्वाधारहरुको विकास गरेर देशमा आर्थिक लहर फैलाउने यसको मूख्य उद्देश्य हो । यस्ता उद्देश्य लिएर गत बर्ष स्थापना भएको इमर्जिङ नेपालले अहिले राम्रो गति लिइरहेको छ । हामीले केयर रेटिङ इण्डियासँग मिलेर क्रिडिट रेटिङ एजेन्सी लिएर आउने प्रयास गरिरहेका छौँ । त्यसैगरी नेपाल सरकारले आफ्नो बजेटमा भनेको पब्लिक पार्टनरसिपमा २० अर्ब चुक्ता पुँजी बनाएर इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको स्थापना गर्ने जुन नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिमा पनि उल्लेख छ, त्यसलाई पूरा गराउने काममा पनि अहिले इमर्जिङ नेपाल लागिरहेको छ ।
वित्तीय क्षेत्रको मानव श्रोतको जुन विकास हुनु पर्ने हो त्यो नेपालमा हुन सकेको छैन । यदि मानव श्रोत विकास हुने हो भने नयाँ जोश जाँगर लिएर आउँछन् । मानव श्रोतको क्षमता अभिवृद्धि भएन भने संस्था परिवर्तनशिल हुन सक्दैन । त्यसकारण हामीले फाइनान्सियल रिसोर्सेस, ट्रेनिङ कलेज स्थापनाका लागि बैंक तथा वित्तीय संस्थाहरुमा प्रपोजल पठाएका छौँ । जुन हाम्रो तेस्रो काम हो । चौथो काम भनेको स्टार्ट अफ फण्ड, जुन हामीले नेपालमा भएका युवा वर्गहरुलाई नेपालकै श्रोत साधन परिचालन गरेर रोजगारीको सिर्जना गर्ने उद्देश्यका साथ सुरु गरेका छौँ, त्यसमा प्राप्त प्रस्तावहरु अहिले हामीले मूल्यांकन गरिरहेका छौँ ।

मूलुकमा लगानीका लागि वर्तमान अवस्था कस्तो छ ?
आजको दिनलाई हेर्ने हो भने मूलुकमा लगानी गर्ने वातावरण संकुचन भएको देखिएको छ । बजारमा तिरलता संकुचित भएको अवस्था छ । अहिले मूलुकमा लगानीका लागि आवश्यक पूँजी नभएको देखिएको छ । आजको दिनमा लगानीको वातावरण नभएपनि लङ्गटर्मका लागि हेर्न हो भने नेपालमा लगानीका सम्भाव्यता धेरै छन । टुरिजम, हाइड्रो तथा कृषिमा लगानी गर्ने सम्भावना एकदम प्रवल छ । नेपाल एउटा सुन्दर देश हो । यहाँ लगानीको सम्भावना धेरै छ तर हामीसँग नेपालमा प्रशस्त पूँजी छैन ।

इमर्जिङ नेपालले अहिले के के काम गरिरहेको छ ?
इमर्जिङ नेपालले अहिले ४ वटा कामहरु गरिरहेको छ । एउटा इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंक स्थापनाका लागि आवश्यक तयारी गरीरहेको छ । अर्को क्रेडिट रेटिङ एजेन्सी कम्पनी स्थापनाका लागि आवश्यक प्रक्रिया पुरा गरिसकेको अवस्था छ । तेस्रो नम्बर स्टार्ट अफ फण्ड सञ्चालन गरिरहेका छौँ । त्यसैगरी चौथोमा फाइनानसियल रिसोर्सेस ट्रेनिङ कलेज स्थापना गने प्रक्रियामा छौँ । र अर्को एसेस्ट म्यानेजमेण्ट कम्पनी स्थापना गर्ने भनेर प्रस्ताबहरु बैंकिङ कम्युनिटिमा पठाएका छौँ ।

नेपालमा पूर्वाधारको अवस्था कस्तो छ ?
नेपालको पूर्वाधार सन्तोषजनक छैन् । पूर्वाधारको अवस्था धेरै कमजोर छ । टुरिजम क्षेत्रलाई बढाउन हवाई क्षेत्र तथा सडकहरु राम्रो हुनु आवश्यक हुन्छ तर त्यो हुन सकिरहेको छैन् । कृषि क्षेत्रमा पनि इनोभेटिभ टेक्नोलोजी ल्याएर काम गर्न सकेको अवस्था छैन । काठमाडौंलाई सुन्दर बनाउने हो भने मोनो रेल सञ्चालनमा ल्याउने, पूर्वपश्चिम रेल स्थापना गर्ने लगायत गर्ने हो भने नेपाल अझ सुन्दर हुन सक्छ । माउण्ट एभरेष्ट जस्ता नेपालका प्राकृतिक सुन्दरताले नेपालमा पर्यटक आवागमनमा सहयोग पुर्याएको छ । तर, वर्तमान अवस्थामा पूर्वाधारको अवस्था त्यति राम्रो छैन ।


स्वरोजगार सिर्जना गर्न कस्तो क्षेत्रमा लगानी बढाउनुपर्छ ?
२०१४ मा नेपाल राष्ट्र बैंक र यूएनसिडिएफले अध्ययन गरेको थियो जसको नेतृत्व मैले नै गरेको थिए । सो अध्ययन अनुसार नेपालको पपुलेसन अत्यन्तै योङ्ग छ । युवा जनशक्ति धेरै बैदेशिक रोजगारमा गएका छन । एक प्रकारका युवा जनशक्ति सीपहिन जनशक्ति हो भने अर्को सेमी स्किल जनशक्ति छ । यी दुबै प्रकारका जनशक्तिलाई सुहाउँदो वातावरण सिर्जना गर्नु हाम्रो देशलाई आवश्यक छ । जसले गर्दा युवाहरु विदेश पलायन नभएर नेपालमै केहि गर्न सकुन् । त्यस्ता उद्योगधन्दालाई प्रयोग गर्न सक्ने उद्योग व्यवसायहरु सञ्चालन हुन् । हामीसँग उत्पादन भएका सामाग्रीहरु रअ मेटेरियल्सका रुपमा निर्यात गरेर त्यसैलाई फिनिस गुडको रुपमा पुनः आयात गर्ने गरेका छौं । यसलाई नेपालमै फिनिस गुड्स बनाउन सक्ने उद्योग धन्दाहरु सञ्चालन गर्ने हो भने गरीबी घटाउन तथा स्वरोजगार बनाउन सक्छौं ।
 
ग्रामिण क्षेत्रमा लगानी कम गयो, लघुवित्त संस्थाहरुले मात्र ग्रामीण क्षेत्रको उन्नती गर्न सक्लान त ?
ग्रामिण क्षेत्रमा लगानी गर्न लघुवित्तहरुको भूमिका महत्वपूर्ण छ । ठूला बैंकहरु शहर केन्द्रीत छन् । कमर्शियल बैंकहरुले ठूलो लगानी गरेर ठूलो मुनाफा कमाइरहेकाले ग्रामिण भेगमा जान त्यति रुचाएको पाइँदैन । नेपाल राष्ट्र बैंकले कमर्शियल बैंकहरु पनि गाउँमा जानु पर्दछ भनेर अहिले ५ प्रतिशत लगानी गर्नु पर्ने रकम छ त्यस वापतको २ प्रतिशत रकम विपन्न वर्गमा आफै लगानी गर्नुपर्छ भनेर नीति निर्देशन जारी समेत गरेको छ । यसले बैंकहरुलाई लघुवित्त कार्य गर्न बाध्यात्मक स्थिती बनाएको छ । लघुवित्त ंसंथाहरुले मात्र ग्रामीण क्षेत्रको उन्नती गर्न सक्दैनन् । यसमा नेपाल सरकार, दातृ निकायहरु सबै एकजुट हुनु आवश्यक हुन्छ ।


देशमा यति धेरै परिवर्तन भयो, तर सोचे जति आर्थिक उन्नती हुन सकेको छैन, मूलुकको अर्थतन्त्रबारे तपाईको विश्लेषण के छ ?
नेपालमा बिनासकारी महा–भूकम्प गयो । ठूलो परिणाममा जनधनको क्षति भयो यसले पनि देशको अर्थतन्त्रमा ठूलो असर पार्यो । गरीबिको रेखामूनी रहेका जनता २–३ प्रतिशत थप भएको भन्ने लेखाजोखा पनि गरिएको छ । यद्यपी यो बर्ष अर्थतन्त्रमा केहि सुधार आएको छ । ५.५ प्रतिशत आर्थिक बृद्धिदर हुन्छ भनेर वल्र्ड बैंकबाट प्रक्षेपण गरिएको छ । कृषि उत्पादन बढेको छ, लोडसेडिङ पनि अन्त्य हुँदै गएको छ । मोटामोटी हेर्ने हो भने अब देशको आर्थिक समृद्धि हुन्छ भन्ने मैले बुझेको छु । तर मुख्य कुरा केहो भने आर्थिक विकास हुन देशको राजनीति स्थिर हुनु आवश्यक पर्दछ । नेपालका केहि नीति नियमहरु अप्ठ्यारा छन् जसले गर्दा विदेशी दाताहरु यहाँ लगानी गर्न गाह्रो मानिरहेको अवस्था छ । आर्थिक वृद्धिदर अघि बढाउनका लागि सरकारले केहि नीति नियम परिवर्तन गरेर सहज वातावरण बनाउनु पर्छ । प्राइभेट सेक्टरलाई अघि बढाउन सहज वातावरण हुनुपर्यो । मुख्य कुरा स्थिर राजनीति हुने हो भने पनि देशको अर्थतन्त्र माथि उठ्छ जस्तो मलाई लाग्छ ।
 
तपाई लामो समय सम्म राष्ट्र बैंकमा पनि रहनु भयो, ठूलो लगानी बिना लघु उद्यमशिलताले मात्र देशको मूहार त फेरिदैन होला है ?
ठूला लगानी मात्र भन्ने पनि हुँदैन् । ठूलो लगानी गर्दा यसले इण्डष्ट्री फष्टाउँछ । तर हामीले हाम्रो गाउँ परिवेश विर्सनु हुँदैन । हाम्रो देश सुहाउँदो, माटो सुहाउँदो क्रियाकलाप हुनु जरुरी छ । हाम्रो गाउँगाउँमा कुन किसिमको विकास आवश्यक हुन्छ त्यसलाई ध्यान दिनु पर्छ । नेपालमा ठूला उद्योगहरुका साथसाथै साना लगानीहरु पनि आवश्यक छ ।


बिजनेश आइडिया ल्याउनुस, लगानी हामी गर्छौ भनेर आह्वान गर्नु भएको स्टार्ट अफ फण्ड कहाँ पुग्यो ?
यहि आह्वान अनुसार १६ वटा प्रस्तावहरु पेश भएका थिए हामीले १६ प्रस्ताव मध्ये मूल्यांकन गरेर ४ वटा प्रस्तावहरु दोस्रो फेजको मूल्यांकन प्रक्रियामा राखेका छौँ । शुरुमा हामीले आइडिया मात्र मागेका हौँ । ती आइडिया मध्ये ४ वटा आइडिया हामीले छनौट गरेका छौँ । ती आइडिया मध्ये पनि कुनले कति बर्षमा रिटर्न दिन सक्छन भनेर एनालाइसिस गरिरहेको अवस्था छ । जुनले छिटो रिटर्न दिन सक्छन ती आइडियालाई लिएर अगाडी बढ्ने हाम्रो योजना रहेको छ ।