मुक्तिनाथ विकास बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा २२ करोड ३२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४० दशमलव ३७ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मुक्तिनाथले १५ करोड ९० लाख १७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
यो अवधिमा बैंकको खुद व्याज आम्दानी ४९ प्रतिशत र सञ्चालन मुनाफा ४३.२० प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको दोस्रो त्रैमासमा ३० करोड ८७ लाख ६७ हजार रुपैयाँ रहेको खुद व्याज आम्दानी ४६ करोड तीन लाख ५५ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २३ करोड ३० लाख ६४ हजार रुपैयाँबाट बढेर ३३ करोड ३७ लाख ६४ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको निक्षेप ५७.८८ प्रतिशतले बढेको छ भने कर्जा लगानी ६६.५० प्रतिशतले बढेको छ । जसअनुसार, गत आर्थिक वर्षको पुस मसान्तसम्ममा नौ अर्ब २३ करोड ५७ लाख ७३ हजार रुपैयाँ रहेको निक्षेप चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा १४ अर्ब ५८ करोड २१ लाख ३९ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, कर्जा लगानी सात अर्ब ८६ करोड ३९ लाख ८९ हजार रुपैयाँबाट बढेर १३ अर्ब नौ करोड ४० लाख ४३ हजार रुपैयाँ पुगेको छ ।
यो अवधिमा बैंकको जगेडा कोष ५१ दशमलव ५० प्रतिशत बढेर ४४ करोड ४० लाख रुपैयाँ पुगेको छ । बैंकको निष्कृय कर्जा ०.२६ प्रतिशतबाट घटेर ०.१८ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ १५ पैसा (वार्षिक), प्रतिसेयर कुल सम्पत्तिको मूल्य एक हजार एक सय ४१ रुपैयाँ सात पैसा, मूल्य आम्दानी अनुपात २६.८६ (वार्षिक), तरलता अनुपात २२.६७ प्रतिशत, प्रतिसेयर नेटवर्थ एक सय २८ रुपैयाँ ५८ पैसा र पुँजीकोष अनुपात १३.५६ प्रतिशत रहेको छ ।