मञ्जुश्री फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षका दोस्रो त्रैमासमा दुई करोड ३७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको तुलनामा ३५.२९ प्रतिशत बढी नाफा कमाएको हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा मञ्जुश्रीले एक करोड ९१ लाख रुपैयाँ नाफा कमाएको थियो ।
२८ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी भएको फाइनान्सले खुद व्याज आम्दानी र सञ्चालन मुनाफामा राम्रो प्रगती गरेको छ । कम्पनीको खुद व्याज आम्दानीमा ४० दशमलव ४७ प्रतिशतले बढेर ५ करोड ९५ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा १६ दशमलव ६६ प्रतिशतले वढेर ३ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।
फाइनान्सले निक्षेपमा तीन अर्ब १८ करोड रुपैयाँ संकलन गरेको छ, जुन गत वर्षको तुलनाभन्दा ५२ दशमलव ३२ प्रतिशतले बढी हो । त्यस्तै, कर्जातर्फ दुई अर्ब ९७ करोड पाँच लाख रुपैयाँ लगानी गरेको छ ।
जोखिमयुक्त सम्पत्ति १४ दशमलव ११ प्रतिशत र निष्कृय कर्जा दुई दशमलव ६३ प्रतिशत रहेको फाइनान्सले प्रोभिजनमा १ करोड ३४ लाख रुपैयाँ राखेको छ । मञ्जुश्री फाइनान्सको प्रतिसेयर आम्दानी १६ दशमलव ६ रुपैयाँ, मुल्य आम्दानीको अनुपात १० दशमलव ६६ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १८ दशमलव १६ रुपैयाँ र तरलता अनुपात २० दशमलव ७० प्रतिशत रहेको छ ।