Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

ठोरीमा पहिलोपटक वित्तीय सेवा पुर्यायो जनउत्थान सामुदायिक लघुवित्तले

२०७३ माघ ९ गते

जनउत्थान सामुदायिक लघुवित्त बिकास बैंकले पर्साको ठोरीमा नयाँ शाखा स्थापना गरी सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको लघुवित्तले राष्ट्र बैंकबाट इजाजत प्राप्त कुनै पनि बैंक तथा वित्तीय संस्था सञ्चालन हुन नसकेको ठोरीमा शनिबार आफ्नो शाखा विस्तार गरेको हो । नेपाल राष्ट्र बैंकका निर्देशक तथा गर्भनर कार्यालयका सह–प्रवक्ता राजेन्द्र पण्डितले उक्त बैंकको शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन गरेपछि बैंकिङ सेवा सञ्चालनमा आएको हो । ठोरी–७ टाउन प्लानमा कार्यालय स्थापना गरेर उक्त बैँकले आफ्नो शाखा विस्तार गरेको हो । 

जनउत्थान सामुदायिक लघुवित्त बैंकको शाखा कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्दै राष्ट्र बैंकका निर्देशक पण्डितले राष्ट्र बैँकको इजाजत प्राप्त बैँक भएकोले ढुक्क भएर बैंकिङ कारोबार गर्न सर्वसाधरणलाई आह्वान गरे । भौगोलिक अवस्था, जनताको आर्थिक अवस्था, विभिन्न क्षेत्रलाई समेट्दै आएका “घ” वर्गका बैंकहरु राष्ट्र बैंकको साझेदार संस्था भएको उनको भनाई थियो । पण्डितले ठोरीमा कुनै पनि बैँक तथा वित्तिय संस्था नहुँदा यहाँका जनताले बैंकिङ सेवा प्राप्त गर्न नसकिरहेको अवस्थामा यस बैंकको स्थापनाले विपन्न तथा उत्पिडीत समूदायमा वित्तीय सेवा पुग्ने र यहाँका जनताको समृद्धि हुनेमा विश्वास व्यक्ति गरे ।  साथमा ठोरीमा बैंक तथा वित्तयी संस्था स्थापना गर्न र ठोरीको सटही काउन्टर पुर्नस्थापनाका लागि आफ्नो ठाउँबाट सक्दो पहल गर्ने प्रतिवद्धता समेत निर्देशक पण्डितले व्यक्त गरे । 

कार्यक्रममा जनउत्थान सामूदायिक लघुवित्त बैँक सञ्चालक समितिका अध्यक्ष यमबहादुर वि.क.ले परम्परागत सीप र पेशालाई लक्षित गरी लगानीका क्षेत्रहरु पहिचान गर्दै स्वरोजगार बनाउने उद्देश्यका साथ बैंकले काम गरिरहेको बताए । सञ्चालक समितिका अध्यक्ष वि.क.ले भने, “वित्तीय सेवाबाट वञ्चित रहेका विपन्न तथा उत्पीडित समूदायलाई लक्षित गरी ठोरीमा पनि शाखा विस्तार गरेका हौँ । शाखा विस्तारसँगै बैंकिङ सेवाबाट वञ्चित रहेका यहाँका महिलाहरुको सीप र क्षमता अभिवृद्धि गरी जीवनस्तर उकास्नु यस बैंकको लक्ष्य हो । त्यसैले वित्तीय सेवा मार्फत आर्थिक उपार्जनमा टेवा पुग्ने विश्वास हामीले लिएका छौँ । बैंकलाई विश्वास गर्नुस् । जनतालाई पनि बैंकले विश्वास गर्नेछ ।” 

कार्यक्रममा ठोरीका अगुवाहरुले बैंक, लघुवित्त, सटही केन्द्र नहुँदा यसका जनताले बैँकिङ कारोवार गर्न कठिनाई परिरहेको भन्दै यसको व्यवस्था मिलाइ दिनका लागि बैंकका निर्देशकसँग आग्रह गरेका थिए । सर्वदलीय समितिका संयोजक रामप्रकाश कुँवर, बुद्धिजीवी केशवप्रसाद रेग्मी, निवर्तमान गाविस अध्यक्ष उद्धवप्रसाद सापकोटा लगायतले बैँक तथा वित्तीय संस्था स्थापनाका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।