प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ५५ करोड ९७ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९ दशमलव २८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा प्राइमले ४६ करोड ९२ रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।
चार अर्ब ९४ करोड तीन लाख रुपैयाँ चुक्ता पुँजी भएको बैंकले खुद ब्याज आम्दानीमा १६ दशमलव ४६ प्रतिशतले वृद्धि गरेको छ । यस अवधिमा बैंकले ८० करोड ८१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै बैंकले संचालन मुनाफा २५ दशमलव २९ प्रतिशत वृद्धि गरि ७३ करोड ४१ लाख रुपैयाँ पुर्याएको छ ।
बैंकले निक्षेप संकलन र कर्जा लगानीमा क्रमशः ३० प्रतिशत र ३४ दशमलव ९७ प्रतिशतले वृद्धि हासिल गरेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा प्राइमले ५५ अर्ब ६० लाख २१ हजार तीन सय ८० रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जातर्फ ४६ अर्ब पाँच करोड २४ लाख ५२ हजार पाँच सय ६० रुपैयाँ प्रवाह गरेको छ ।
यो अवधिमा १४ करोड ५३ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल बैंकको जोखिमयुक्त सम्पत्ति १३ दशमलव ५७ प्रतिशत रहेको छ भने निष्कृय कर्जा एक दशमलव ३६ प्रतिशत रहेको छ । बैंकले जगेडा कोषमा दुई अर्ब ४३ करोड रुपैयाँ राखेको छ ।
पुस मसान्तसम्ममा प्राइम बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६६ पैसा, मूल्य आम्दानीको अनुपात २२ दशलमव ५१ गुणा, प्रतिसेयर नेटवर्थ एक सय ४९ रुपैयाँ ३४ पैसा र तरलता अनुपात २२ दशमल ६० प्रतिशत रहेको छ ।



