प्रभु बैंकले आस्वा प्रणालीकोे अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले प्रभुलाई धितोपत्र खरिद (सार्वजनिक निष्काशन) सम्बन्धी निर्देशिका, २०७३ अनुसार धितोपत्र दरखास्त संकलन गर्ने कार्य अर्थात आस्वा प्रणालीको अनुमति दिएको हो । बैंकले अनुमती प्राप्त गरेको आस्वा प्रणाली अन्तर्गत सार्वजनिक रुपमा धितोपत्र निष्काशन हुँदा खरिद गर्न चाहने यस बैंकको जुनसुकै शाखा कार्यालयका खाताधनी लगानीकर्ताहरुबाट दरखास्त फारम संकलन गरी दरखास्त फारममा उल्लेख भए अनुसारको रकम सम्बन्धित लगानीकर्ता खाताधनीकै खातामा रोक्का राखी उक्त धितोपत्र बाँडफाँड भए पश्चात् लगानीकर्ताको नाममा कायम हुन आएको धितोपत्र बराबरको रकम सम्बन्धित धितोपत्र निष्कासनकर्ता कम्पनीमा पठाई बाँकी रकम सम्बन्धित खाताधनीले पुर्ववत् रुपमा प्रयोग गर्न सक्ने गरी फुकुवा गर्ने व्यवस्था छ ।
देशभर रहेका प्रभु बैंकका शाखा कार्यालयहरुका खाताधनी लगानीकर्ताहरुले सहज, सरल र झन्झटमुक्त तवरले सार्वजनिक रुपमा निष्कासन हुने धितोपत्रमा लगानी गर्न सक्ने सुविधा प्राप्त गर्ने भएकाले यसबाट बैंकका सम्पूर्ण खाताधनी लगानीकर्ता महानुभावहरु लाभान्वित हुनुहुने विश्वास लिइएको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।