Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

ऊर्जा उद्यमी बटु लामिछाने एफएनसीसीआईको नवीकरणीय एवं ऊर्जा समिति सभापतिमा

२०८३ भाद्र ३० गते

बैंकिङ खबर /  ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो समयदेखि सक्रिय उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को नवीकरणीय एवं ऊर्जा समिति सभापतिमा मनोनीत भएका छन् ।

महासंघको २०८३ जेठ ८ गते बसेको दोस्रो कार्यकारिणी समिति बैठकले विधानको दफा ३७ बमोजिम कार्यकारिणी समिति सदस्यसमेत रहेका लामिछानेलाई समितिको सभापतिमा मनोनयन गरेको हो ।

ऊर्जा क्षेत्रलाई नेपालको आर्थिक विकास, औद्योगिकीकरण तथा लगानी विस्तारको महत्वपूर्ण आधारका रूपमा हेरिँदै आएको अवस्थामा लामिछानेलाई ऊर्जा समितिको नेतृत्व दिइनुलाई अर्थपूर्ण रूपमा लिइएको छ। उनको नेतृत्वमा ऊर्जा तथा नवीकरणीय ऊर्जासँग सम्बन्धित नीति, गतिविधि तथा उद्योग व्यवसायका मुद्दालाई थप प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा महासंघले गरेको छ ।

महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले महासंघको छवि र प्रतिष्ठालाई थप सशक्त बनाउन नवीकरणीय एवं ऊर्जा समितिले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । समितिले ऊर्जा क्षेत्रका विद्यमान चुनौती, नवीकरणीय ऊर्जाको विकास, लगानीको वातावरण तथा निजी क्षेत्रका सरोकारका विषयमा महासंघमार्फत आवश्यक पहल गर्ने अपेक्षा गरिएको छ ।

महासंघले समितिबाट भएका गतिविधि तथा कार्यभारको त्रैमासिक रूपमा पुनरावलोकन तथा मूल्यांकन गर्ने व्यवस्था रहेको समेत जनाएको छ ।

लामिछाने आधा दर्जनभन्दा बढी जलविद्युत् आयोजना तथा विभिन्न उद्योग सञ्चालन गर्दै आएको बिजी ग्रुप नेपालका कार्यकारी अध्यक्ष हुन्। ऊर्जा तथा औद्योगिक क्षेत्रमा लामो अनुभव हासिल गरेका लामिछानेको व्यावसायिक पृष्ठभूमिले समितिको नेतृत्वलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।