Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

जनउत्थान सामुदायिक लघुवित्तले बाढीपीडितका लागि ४ लाख सहयोग

२०८३ भाद्र १६ गते

बैंकिङ खबर /  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि ४ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम प्रदान गरेको हो । संस्थाका अध्यक्ष डा. मानबहादुर बीके तथा सञ्चालकद्वय यज्ञविक्रम शाही र गुरुराज बरालले सहयोग रकमको चेक नेपाल सरकार महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर राउतलाई हस्तान्तरण गरेका हुन् ।

चेक हस्तान्तरणका क्रममा संस्थाका प्रतिनिधिहरूले विपद्को कठिन समयमा बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि राज्यले सञ्चालन गरिरहेको अभियानमा संस्थाको तर्फबाट सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरिएको बताएका छन् ।यसैबीच, जनउत्थानले बाढी प्रभावितको सहयोगका लागि आफ्ना कर्मचारीको एक दिन बराबरको तलब तथा भत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ । संस्थासँग आबद्ध सदस्य तथा उनीहरूका परिवार बाढीबाट प्रभावित भए/नभएको पहिचान गर्न आवश्यक तथ्यांक संकलन गर्ने, प्रभावित व्यक्तिको खोज तथा उद्धारमा सहजीकरण गर्ने र स्वेच्छिक रूपमा राहत रकम वा जिन्सी सहयोग गर्न चाहने सदस्यबाट सम्बन्धित शाखामार्फत सहयोग संकलन गरी प्रभावित क्षेत्रमा पु¥याउने व्यवस्था मिलाइएको संस्थाले जनाएको छ ।

संस्थाले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।संस्थाका कायममुकायम प्रमुख कार्यकारी अधिकृत इन्द्र बरालीका अनुसार जनउत्थानले स्थापना कालदेखि नै वित्तीय पहुँचबाट वञ्चित तथा पछाडि परेका समुदायलाई लक्षित गर्दै सामुदायिक वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाले विपद् व्यवस्थापन तथा सामाजिक उत्तरदायित्वसम्बन्धी जनचेतनामूलक कार्यक्रमसमेत समुदायस्तरमा सञ्चालन गर्दै आएको जनाएको छ ।

वि.सं. २०६७ सालमा स्थापना भएको जनउत्थान सामुदायिक लघुवित्तले जलवायु परिवर्तनलाई लक्षित गर्दै स्थापनाकालदेखि नै हरित लगानी (Green Lending) लाई प्राथमिकता दिँदै आएको छ ।

हाल संस्थाले पर्सादेखि कञ्चनपुरसम्मका तराईका ११ जिल्ला तथा ती जिल्लासँग जोडिएका पहाडी क्षेत्रका ८ जिल्ला गरी १९ जिल्लामा ३९ शाखा कार्यालयमार्फत करिब ३७ हजार सदस्यलाई सामुदायिक वित्तीय सेवा प्रदान गर्दै आएको छ । संस्थाको केन्द्रीय कार्यालय बुटवल उपमहानगरपालिका–१०, रुपन्देहीमा रहेको छ ।जनउत्थानले आगामी दिनमा पनि विपद् व्यवस्थापन, मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।