Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
कर्पोरेट

रसुवा बाढीपीडितका लागि कन्टिनेन्टल ट्रेडिङको २५ लाख सहयोग

२०८३ भाद्र १६ गते

बैंकिङ खबर / रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालिले २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो । कम्पनीका अध्यक्ष सुदर्शन घिमिरे, कार्यकारी उपाध्यक्ष रेखा घिमिरे तथा निर्देशक अदिती घिमिरेसहितको टोलीले अर्थ मन्त्रालय पुगेर अर्थमन्त्री स्वर्णिम वाग्लेलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको जनाएको छ ।

हालै रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोका कारण रसुवासहित नुवाकोट, धादिङलगायत आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । बाढी तथा पहिरोका कारण घर, सम्पत्ति तथा भौतिक पूर्वाधारमा क्षति पुगेपछि प्रभावित परिवारलाई तत्काल राहत, उद्धार तथा पुनःस्थापनाको आवश्यकता देखिएको कम्पनीले जनाएको छ ।विपद्को कठिन समयमा प्रभावित नागरिकको पीडामा साथ दिन तथा सरकारले सञ्चालन गरिरहेको राहत र उद्धार अभियानमा सहयोग पु¥याउने उद्देश्यले कम्पनीले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गरेको हो ।

चेक हस्तान्तरणका क्रममा कम्पनीका प्रतिनिधिहरूले बाढी तथा पहिरोमा परी ज्यान गुमाएका सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै, विपद्मा परी घाइते भएका नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।कम्पनीले प्राकृतिक विपद्को समयमा प्रभावित परिवारको दुःखमा साथ दिनु निजी क्षेत्रको सामाजिक उत्तरदायित्वसमेत भएको जनाएको छ । राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने कम्पनीको धारणा छ ।

कम्पनीका प्रतिनिधिले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु मानवीय तथा सामाजिक दायित्व भएको बताउँदै राज्य र समाजलाई आवश्यक परेको समयमा निजी क्षेत्रले आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले आगामी दिनमा पनि आवश्यकता र आफ्नो क्षमता तथा सामर्थ्यअनुसार मानवीय सहायता तथा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

‘विपद्मा एकजुट बनौँ, पीडितको साथ दिऔँ’ भन्ने सन्देशसहित कम्पनीले प्रभावित परिवारको राहत तथा उद्धार कार्यमा आफ्नो सहयोगले केही भए पनि योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।