२०८२ फाल्गुन २९ गते

देशको बर्तमान आर्थिक अबस्था : (रिपोर्टसहित)

बैंकिङ खबर / नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको तथ्यांक अनुसार नेपालको अर्थतन्त्रमा मिश्रित संकेत देखिएको छ।

मूल्यवृद्धि बढ्दो

तथ्यांक अनुसार २०८२ माघ महिनामा थोक मुद्रास्फीति ६.२१ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ३.४७ प्रतिशत थियो। उपभोग्य वस्तु (जस्तै खानेकुरा, दैनिकीका सामान) को मूल्य ०.७२ प्रतिशतले बढेको छ भने मध्यवर्ती वस्तु (उत्पादनको तयारी सामग्री) को मूल्य ९.८३ प्रतिशतले बढेको छ। पुँजीगत वस्तु (निर्माण, मेसिनरी, ठूला उद्योगका सामान) को मूल्य ३.२१ प्रतिशतले बढेको छ। निर्माण सामग्रीको थोक मूल्य २.०४ प्रतिशतले बढेको छ। उपभोक्ता मुद्रास्फीति ३.२५ प्रतिशत कायम छ, जुन भारतको जनवरी २०२६ मा रहेको २.७५ प्रतिशतभन्दा केही बढी हो।

वैदेशिक व्यापार र बढ्दो व्यापार घाटा

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनामा निर्यात ३२.२ प्रतिशतले वृद्धि भई रु. १६८ अर्ब १५ करोड पुगेको छ। तर चीनतर्फ निर्यात ५५.३ प्रतिशतले घटेको छ। भारततर्फ निर्यात ४०.३ प्रतिशत र अन्य मुलुकतर्फ ९.४ प्रतिशतले बढेको छ।

यसैबीच आयात १३.६ प्रतिशतले बढेर रु. १,१२३ अर्ब ४९ करोड पुगेको छ। भारतबाट आयात ५.५ प्रतिशत, चीनबाट २२.३ प्रतिशत र अन्य मुलुकबाट २९.५ प्रतिशतले बढेको छ। आयात बढ्दा र चीनतर्फ निर्यात घट्दा व्यापार घाटा १०.९ प्रतिशतले बढेर रु. ९५५ अर्ब ३४ करोड पुगेको छ। निर्यात-आयात अनुपात १५ प्रतिशत कायम छ।

सेवा क्षेत्र घाटामा, रेमिट्यान्समा बलियो वृद्धि

सेवा क्षेत्रबाट आएको आम्दानी (जस्तै बैंक सेवा, होटल, यात्रा, ट्राभल) घाटामा रु. ५० अर्ब १६ करोड रहेको छ। भ्रमण आय २.६ प्रतिशतले घटेर रु. ४७ अर्ब ९९ करोड पुगेको छ।

तर विदेशबाट पठाइने रकम (रेमिट्यान्स) ३९.८ प्रतिशतले बढेर रु. १२६१ अर्ब १ करोड पुगेको छ। अमेरिकी डलरमा आएको रेमिट्यान्स ३३ प्रतिशतले बढेको छ।

बैंकिङ क्षेत्रमा तरलता सुधार

मौद्रिक क्षेत्रमा चालु खाता रु. ४९३ अर्ब ७८ करोड बचतमा रहेको छ। बैंकिङ क्षेत्रको निक्षेप ६ प्रतिशतले बढेर रु. ७,६९७ अर्ब ५९ करोड पुगेको छ।बैंकहरूले निजी क्षेत्रमा दिएको कर्जा पनि बढेर रु. ५,७१९ अर्ब ५४ करोड पुगेको छ, जसले बैंकिङ गतिविधि विस्तार भइरहेको संकेत गर्छ।

सेयर बजारको अवस्था

वित्तीय बजारमा नेप्से सूचकाङ्क २,६७१.०७ मा कायम छ। बजारको कुल पुँजीकरण रु. ४,४८४ अर्ब ७९ करोड पुगेको छ। हाल नेप्सेमा २८४ कम्पनी सूचीकृत रहेका छन्, जसमा बैंक, वित्त तथा बीमा कम्पनी १३२, जलविद्युत् कम्पनी ९७, उद्योग २६, होटल ८ र अन्य २१ कम्पनी रहेका छन्।

Current Macroeconomic and Financial Situation -Nepali (Based on Seven Month data of 2082.83)