
बैंकिङ खबर / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि ‘वाचापत्र’ सार्वजनिक गर्दै सुशासन र नीतिगत सुधारलाई जोड दिएको छ । सुर्खेतमा आयोजित आमसभामा पार्टीका शीर्ष नेताहरूले वाचापत्र घोषणा गरेका हुन् । रास्वपाले नेपालको परम्परागत अर्थतन्त्रलाई रूपान्तरण गर्दै प्रविधि, उत्पादन र रोजगारीमा आधारित द्रुत आर्थिक विकास गर्ने बताएको छ । वाचापत्रमा आगामी पाँच वर्षभित्र वार्षिक औसत ७ प्रतिशतको स्थिर आर्थिक वृद्धिदर हासिल गर्ने उल्लेख छ । पाँचदेखि सात वर्षभित्र नेपालीको प्रतिव्यक्ति आय ३,००० अमेरिकी डलर नाघ्ने र नेपालको अर्थतन्त्रको आकार १०० अर्ब डलर नजिक पुर्याउने उल्लेख छ । विदेशी लगानी भित्र्याउन र मुनाफ लैजान सरल नीति बनाउने तथा बौद्धिक सम्पत्ति धितो राखी सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने जनाइएको छ । साथै विदेशमा रहेका नेपालीहरूको पूँजीलाई ‘डलर खाता’ को सहजता र प्रतिफललाई सहज फिर्ता लान सक्ने कानुनी प्रावधानसहित ‘राष्ट्रिय ज्ञान बैंक’ स्थापना गर्ने योजना पत्रमा उल्लेख गरिएको छ ।
यस्तै नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि सार्वजनिक गरेको घोषणापत्रमा प्राविधिक धारमा उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई २० लाखसम्म निर्ब्याजी ऋण उपलब्ध गराउने उल्लेख छ । नेकपा एमालेले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्ने संकल्प दोहोराएको छ । एमालेले आफ्नो दस्तावेजलाई विकास, समृद्धि र स्थायित्वको आधारका रूपमा अघि सारेको जनाएको छ । घोषणापत्रअनुसार प्राविधिक तथा व्यावसायिक उच्च शिक्षामा पहुँच विस्तार गर्न र दक्ष जनशक्ति उत्पादनलाई प्रोत्साहन गर्न उक्त निर्ब्याजी ऋण योजना लागू गरिने उल्लेख छ ।



