बैंकिङ खबर / नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको स्टार्टअप तथा इनोभेसन फोरमको बैठक काठमाडौंमा सम्पन्न भएको छ। बैठकले नेपालमा स्टार्टअप र नवप्रवर्तन प्रवर्द्धनका लागि नीतिगत सुधार, लगानीमैत्री वातावरण र उद्यमशीलता विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै सरकार-निजी क्षेत्र सहकार्यलाई तीव्र बनाउनुपर्नेमा जोड दिएको छ।
वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले नवप्रवर्तनमैत्री नीति र वित्तीय पहुँच विस्तारबिना स्टार्टअप इकोसिस्टम सुदृढ हुन नसक्ने बताउँदै बजार पहुँच, मेन्टरसिप र नियामकीय स्पष्टता आवश्यक रहेको धारणा राखे। उपाध्यक्ष हेमराज ढकालले कर तथा लगानीसम्बन्धी सहजीकरणको आवश्यकता रहेको उल्लेख गरे।कोषाध्यक्ष भरतराज आचार्यले फोरमलाई कमिटीमा रूपान्तरण गरी संस्थागत मापदण्ड विकास गर्नुपर्ने प्रस्ताव राखे।
औद्योगिक व्यवसाय विकास प्रतिष्ठानका कार्यकारी निर्देशक इन्जिनियर उमेश कुमार गुप्ताले सरकारी उद्यम विकास कार्यक्रम निजी क्षेत्रसँगको सहकार्यमा अघि बढाइने जानकारी दिए।उपाध्यक्ष ज्योत्सना श्रेष्ठले महिला तथा युवा उद्यमशीलतालाई नीतिको केन्द्रमा राख्नुपर्ने बताए। फोरम सभापति जुना माथेमाले साझेदारी विस्तार र उद्यमी-लगानीकर्ता प्लेटफर्म सुदृढ गर्दै जानु पर्नेमा जोड दिएका थिए।
