Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

के सुनको भाउ अझै बढ्छ ? १२ बर्ष अघि ६० हजार थियो, अहिले २ लाख ४१ हजार

२०८२ मंसिर ५ गते

बैंकिङ खबर / वि स २०७० मा सुनको मूल्य लगभग ६०,००० रुपैयाँ प्रति तोला थियो। यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०७५ पछि सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखियो, जसले गर्दा २०७६ सालमा सुनको मूल्य ९०,००० रुपैयाँ पार गर्यो र २०८२ मा आइपुग्दा २ लाख ४० हजार माथि पुग्यो । पछिल्लो समय सुनको मूल्यमा भएको यो अस्वभाविक बृद्धि हो । जसका कारण आगामी दिनमा सुनको मूल्य बढ्ने र घट्ने दुवै किसिमका अनुमानहरु गर्न थालीएका छन् ।
यस वर्ष सुनको मूल्य हेर्ने हो भने यो बर्षलाई ऐतिहासिक दृष्टिले ‘सुनौलो वर्ष’ भन्न सकिन्छ । यसअघि सुन जति चम्किने गथ्र्यो, त्यो भन्दा यस वर्ष अझ बढी सुन चम्किरहेको छ ।

सुनको मूल्य वृद्धिको मुख्य कारण अन्तर्राष्ट्रिय बजारसँग प्रत्यक्ष सम्बन्धित छ । सुन प्रायः अमेरिकी डलरमा मूल्यांकन हुन्छ । अमेरिकी अर्थतन्त्रमा अस्थिरता बढ्दा डलर कमजोर हुन्छ, जसको प्रभावले सुनको मूल्य बढ्छ । अन्य मुलुकको आर्थिक अवस्था सुनको मूल्यमा त्यति प्रभावकारी हुँदैन । अहिले अमेरिकाको आर्थिक अस्थिरता र उच्च मुद्रास्फीतिले लगानीकर्तालाई सुनमा आकर्षित गरेको छ ।

सुनको मूल्य वृद्धिलाई केवल अमेरिकी आर्थिक कारणमा मात्र सीमित गर्न सकिँदैन । विश्वव्यापी मुद्रास्फीति, प्रमुख राष्ट्रहरूको वित्तीय नीति, र आर्थिक अनिश्चितता पनि सुनको मूल्य वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । लगानीकर्ताले कठिन आर्थिक अवस्थामा सुरक्षित सम्पत्ति खोज्नुनै मुख्य कारण हो, र सुन यसको लागि सर्वोत्तम विकल्प बनिरहेको छ ।

सुनको मूल्य र इतिहास

सुनको मूल्यमा ऐतिहासिक दृष्टिले धेरै उतार–चढाव आएका छन् । १९७० र १९८० को दशकमा ऊर्जा संकट र उच्च मुद्रास्फीतिको समयमा सुनको मूल्य तीव्र रूपमा बढेको थियो । लगानीकर्ताहरू मुद्रास्फीतिबाट बच्न सुनमा आकर्षित भए। त्यस्तै, १९७९ मा अमेरिकी अर्थतन्त्रले दोहोरो अंकको मुद्रास्फीतिसँग संघर्ष गरिरहेको अवस्थामा सुनको मूल्य उल्लेखनीय रूपमा बढेको थियो ।

त्यसपछि २००१ मा सेप्टेम्बर ११ को आतंकवादी हमला, २००८ को वैश्विक वित्तीय मन्दी र २०२०–२१ को महामारीको समयमा पनि सुनको मूल्यमा वृद्धि भएको थियो । यी सबै अवस्थाहरूमा सुनले लगानीकर्तालाई सुरक्षित विकल्प दिएको थियो । तर सन् २०२५ मा सुनको मूल्य वृद्धिले ती अघिका सबै घटनालाई पछि पार्दै तीव्र गति कायम राखेको छ ।

नेपालमा सुनको मूल्य

नेपालमा सुनको मूल्यको इतिहास लामो र विविध छ, जसले देशको आर्थिक परिप्रेक्ष्य र अन्तर्राष्ट्रिय बजारका उतारचढावलाई प्रतिविम्बित गर्दछ।
सन् २०२५ को अक्टोबर महिनामा सुनको मूल्य प्रति तोला २ लाख ५० हजार रुपैयाँ नाघेर नयाँ उच्चतम स्तरमा पुगेको छ, जुन नेपालको सुनको मूल्यको इतिहासमा महत्वपूर्ण माइलस्टोन हो ।

नेपालमा सुनको मूल्यको ऐतिहासिक रेकर्डहरूको अभाव भए तापनि, २००० को दशकको अन्त्यतिर सुनको मूल्य प्रति तोला १५ हजारदेखि २० हजार रुपैयाँको बीचमा थियो। यस अवधिमा सुनको मूल्य स्थिर र मध्यम स्तरमा रहेको थियो । त्यसको एक दशकमा अर्थात सन २०१० तिर सुनको मूल्यमा अलि धेरै बृद्धि भएर गयो सन २०१० मा नेपालमा सुनको मूल्य लगभग ३०,००० रुपैयाँमा प्रततोला कायम थियो । यो मूल्य त्यस समयमा स्थिर रूपमा बढ्दै गयो, तर २०१५ मा सुनको मूल्य प्रति तोला ५० हजार रुपैयाँ नाघेको थियो । त्यस यता सुनको मूल्य फेरि स्थिर थियो करिव २०२० तिर सुनको मूल्य एकलाख भन्दा कम थियो । यो ५ बर्षको अन्तरालमा सुनको मूल्य अत्याधिक बढेको पाइन्छ ।

पछिल्लो समय सुनको मूल्य केही घटेको छ । तर यो क्रम निरन्तर भने छैन । यसलाई हेर्दा आगामी दिन अन्योल देखिन्छ । कात्तिक २७ गते सुनको भाउ २ लाख ५० हजार २ सय रुपैयाँ थियो भने गत असोज ३१ गते हालसम्मकै उच्च मूल्य २ लाख ५८ हजार रुपैयाँको रेकर्ड बनेको थियो । मंसरि ४ गतेको मूल्यलाई हेर्ने हो भने सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार रुपैयाँ रहेको छ । शुक्रबार सुनको मूल्य घटेर २ लाख ४१ हजार ७ सय निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला ३ हजार १ सय कायम भएको छ ।