२०८२ कार्तिक १६ गते

ठूला बैंकको गुणस्तर परीक्षणः बंगलादेशी टोली स्थलगत सुपरीवेक्षणमा

बैंकिङ खबर/ नेपालका १० ठूला वाणिज्य बैंकहरूको सम्पत्तिको गुणस्तर परीक्षण (लोन पोर्टफोलियो रिभ्यु) का लागि स्थलगत सुपरीवेक्षण सुरु गरिएको छ । बंगलादेशको लेखापरीक्षण फर्म हाउल्याडर युनुस एन्ड कम्पनीका लेखापरीक्षकसहितको टोली आइतबारदेखि बैंकहरूमा पुगेको हो ।

टोलीमा नेपाल राष्ट्र बैंकका २ जना तथा उक्त फर्मका २ जना लेखापरीक्षक रहेका छन् । टोलीले बैंक व्यवस्थापनसँग छलफल गर्दै प्रत्यक्ष परीक्षण सुरु गरेको हो । यसअघि दशैंअघि नै आवश्यक तथ्यांक र विवरण संकलन गरिएको थियो । अब टोलीले बैंकका कर्जा फाइलहरू, कोर बैंकिङ सिस्टम, परियोजना लगानीको अवस्था र कर्जा भुक्तानी प्रक्रियाको विस्तृत अध्ययन गर्नेछ ।

गत चैतको वासलताका आधारमा धेरै कर्जा लगानी भएका ग्लोबल आईएमई, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, राष्ट्रिय वाणिज्य, कुमारी, लक्ष्मी सनराइज, प्रभु, हिमालयन, एनएमबि र एनआईसी एशिया बैंक गरी १० वटा बैंक परीक्षणको दायरामा छन् । यो परीक्षण अन्तर्राष्ट्रिय मुद्रा कोषसँगको विस्तारित कर्जा सुविधाको सर्तअनुसार भइरहेको हो । नेपाल राष्ट्र बैंकले खरिद प्रक्रियामार्फत बंगलादेशी फर्मलाई छनोट गरेको हो ।

राष्ट्र बैंक स्रोतका अनुसार, अब केही दिन संयुक्त टोलीले सबै बैंकमा गएर करिब साढे दुई दर्जन सूचकका आधारमा सम्पत्तिको गुणस्तर मूल्यांकन गर्नेछ । कर्जाको सदुपयोग, ऋणीको परियोजनाको अवस्था, र कर्जा भुक्तानी प्रणालीको पनि परीक्षण हुनेछ ।

बैंकहरूले पर्याप्त धितो सुरक्षण र कर्जा नोक्सानी व्यवस्था रहेको दाबी गरेका छन् । तर, कतिपय अवस्थामा कर्जा एउटै प्रयोजनका लागि लिएर अर्को प्रयोजनमा खर्च गर्ने, ऋण तिर्न अर्को ऋण प्रयोग गर्ने जस्ता अभ्यास भइरहेको बैंकरहरूले स्वीकार गरेका छन् ।

यसैबीच, लोन पोर्टफोलियो रिभ्यूपछि कर्जा नोक्सानी व्यवस्थामा वृद्धि हुन सक्ने सम्भावनाले बैंकहरूमा चिन्ता बढेको छ । आईएमएफले अघिदेखि नै नेपालका बैंकहरूले एभरग्रिनिङ गरेर निष्क्रिय कर्जाको तथ्यांक राम्रो देखाउने प्रयास गरेको आशंका व्यक्त गर्दै आएको छ । यस परीक्षणले ती शंकाको सत्यता प्रमाणित गर्ने वा खारेज गर्ने अपेक्षा गरिएको छ ।