२०८२ कार्तिक १४ गते

एउटा धनी देश भेनेजुएला : आन्तरिक राजनीतिक द्वन्द्वको सिकार भएर यसरी सकियो

बैंकिङ खबर/ दक्षिण अमेरिकाको उत्तर भागमा अवस्थित भेनेजुएला विश्वका सबैभन्दा धेरै तेल भण्डारण भएका मुलुकहरूमध्ये अग्रस्थानमा पर्छ । देशसँग विश्वको १७.५ प्रतिशत कच्चा तेलको भण्डार छ, जसले यसलाई २०औँ शताब्दीमा धनी र आकर्षक राष्ट्रको रूपमा परिचित बनायो ।

१९७० को दशकमा तेल निर्यातबाट आएको आम्दानीका कारण भेनेजुएला दक्षिण अमेरिकाको सबैभन्दा सम्पन्न देश थियो । तर विडम्बना, त्यही तेल, जसले देशलाई समृद्धि दियो, पछि देशको राजनीतिक र आर्थिक पतनको मुख्य कारण पनि बन्यो ।

राजनीतिक अस्थिरता र सत्ता संघर्षको सुरुवात

१९९० दशकको अन्त्यतिर देशमा राजनीतिक असन्तोष बढ्दै गयो । गरीबी, भ्रष्टाचार, असमानता र बेरोजगारीले आम जनतालाई सडकमै ल्यायो । १९९८ मा हुगो चावेज नामक सैनिक नेताले ‘बोलीभारीयन रेभुलेसन’ को नारा दिएर सत्ता सम्हाले । उनको उद्देश्य जनतालाई सशक्त बनाउने र धनीहरूबाट सम्पत्ति पुनःवितरण गर्ने थियो ।

शुरुका केही वर्षमा चावेजले सामाजिक कार्यक्रम, शिक्षा, स्वास्थ्य र आवासमा ठूला लगानी गरे । तेलको मूल्य उच्च हुँदा यो सम्भव पनि भयो । तर समस्या सुरु भयो जब उनले तेल कम्पनीहरूमा राज्य नियन्त्रण विस्तार गरे, विदेशी लगानीकर्तालाई निकालिदिए र निजी उद्योगहरूमाथि करिब पूर्ण नियन्त्रण लिए । बैंकिङ प्रणाली पनि राज्यको हस्तक्षेपबाट अछुतो रहन सकेन । सरकारी आदेश अनुसार, बैंकहरूले राज्यको विकास योजनामा ऋण दिनुपर्ने भयो, जसले बजारको स्वाभाविक सञ्चालन र वित्तीय स्थायित्वलाई कमजोर बनायो ।

तेलमा अत्यधिक निर्भर अर्थतन्त्र

अर्थशास्त्रीहरूको विश्लेषण अनुसार, भेनेजुएलाको अर्थतन्त्र ९५ प्रतिशत निर्यात तेलमा निर्भर थियो । अन्य उद्योगहरू, कृषि, र विनिर्माण क्षेत्रमा लगानी लगभग शून्य थियो । जबसम्म तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा उच्च रह्यो (विशेषतः २००४–२०१३), देशको आर्थिक वृद्धि सशक्त देखिन्थ्यो ।

तर २०१४ पछि जब तेलको मूल्य घट्यो, देशको आम्दानी अचानक खस्कियो । विदेशी मुद्रा अभाव भयो, आयात घट्यो, र दैनिक उपभोग्य वस्तुको अभाव देखियो। बैंकहरूमा तरलता संकट सुरु भयो । भेनेजुएलाको सेंट्रल बैंक बेनको सेन्ट्रल डि भेनेजुएलाले मुद्रा छापेर घाटा पुरा गर्ने नीति अपनायो । यसले हाइपरइन्फ्लेशन अर्थात् अत्यधिक मुद्रास्फीति जन्मायो। २०१८ मा मुद्रास्फीति दर अत्याधिक बढ्यो । जसले जनताको जीवनस्तर ध्वस्त बनायो ।

बैंकिङ प्रणालीको पतन

राज्यले बैंकिङ क्षेत्रमा नियन्त्रण विस्तार गरेपछि, धेरै निजी बैंकहरू बन्द हुन थाले । सरकारको नीति अनुसार, बैंकहरूले सरकारी ऋणपत्र र तेल राजस्वमा आधारित योजनामा लगानी गर्नुपथ्र्यो । तर तेल आम्दानी घटेपछि यी ऋणपत्रहरूको मूल्य शून्य सरह भयो । बैंकहरूको ब्यालेन्स सिट कमजोर बन्यो । साथै, अत्यधिक महँगो व्याजदरले बैंकहरूको वास्तविक आम्दानी घटायो ।

मुद्रा अवमूल्यन र जनताको दुःख

सरकारले आफ्ना खर्च धान्न लगातार पैसा छाप्दै गयो। मुद्रा आपूर्ति बढेपछि वेनेजुएलाको बोलिभरको मूल्य घट्दै गयो । २०२० सम्म आइपुग्दा १ अमेरिकी डलर बराबर २० लाख बोलिभर भन्दा बढी भइसकेको थियो ।

जनताले आफ्नो बचत गुमाए, बैंकका निक्षेपहरू निष्प्रभावी बने, र अर्थतन्त्र पूर्णरूपमा ‘क्याशलेस’ र ‘डॉलराइज्ड’ हुन थाल्यो । राष्ट्र बैंकले ब्याजदर बढाएर मुद्रास्फीति नियन्त्रण गर्न खोज्यो, तर महँगो ब्याजदरले लगानी, ऋण र उत्पादन सबैलाई ठप्प पारिदियो ।

भेनेजुएलाको पतनका कारण 

क) राजनीतिक हस्तक्षेप र संस्थागत कमजोरी

-बैंक, उद्योग र बजार स्वतन्त्र हुनुपर्ने ठाउँमा सबैमा सरकारको प्रत्यक्ष हस्तक्षेप भयो।

-राजनीतिक नियुक्ति, भ्रष्टाचार, र पारदर्शिताको अभावले संस्थागत विश्वास गुमायो।

ख) Dutch Disease को प्रभाव

-तेलमा अत्यधिक निर्भरता र विदेशी मुद्राको प्रवाहले अन्य उद्योगहरू प्रतिस्पर्धा गर्न असमर्थ बने।

-कृषि र उत्पादन क्षेत्र बन्द हुँदै गए, जसले बेरोजगारी र आयात निर्भरता बढायो।

ग) गलत मौद्रिक नीति

सेंट्रल बैंकले मुद्रास्फीति नियन्त्रण गर्नुको सट्टा पैसा छापेर घाटा पूर्ति गर्न खोज्यो। यो ‘hyperinflation trap’ मा फस्ने सबैभन्दा ठूलो गल्ती थियो।

घ) अन्तर्राष्ट्रिय प्रतिबन्ध र अलगाव

अमेरिका र युरोपेली राष्ट्रहरूले मानवअधिकार उल्लंघन र भ्रष्टाचारका कारण आर्थिक प्रतिबन्ध लगाए। यसले विदेशी लगानी घटायो र बैंकिङ प्रणालीको अन्तर्राष्ट्रिय पहुँच अवरुद्ध गर्‍यो।

ङ) वैदेशिक ऋण संकट

तेल आम्दानी घटेपछि वेनेजुएलाले वैदेशिक ऋण तिर्न सकेन। २०१७ पछि देश default मा गयो,  जसले अन्तर्राष्ट्रिय बजारमा यसको विश्वसनीयता समाप्त गर्‍यो।

बैंकिङ क्षेत्रमा प्रत्यक्ष प्रभाव

बैंकिङ क्षेत्र कुनै पनि देशको अर्थतन्त्रको मेरुदण्ड हो। तर भेनेजुएलामा यो मेरुदण्ड नै भाँचियो।

तरलता संकटः बैंकहरूले ग्राहकलाई रकम फिर्ता गर्न सक्ने अवस्थामा रहेनन्।

अविश्वासः नागरिकहरूले बैंकमा पैसा राख्न छोडे, जसले वित्तीय प्रणाली कमजोर बनायो।

डिजिटल अवरोधः अन्तर्राष्ट्रिय प्रतिबन्धका कारण वेनेजुएलाका बैंकहरू ‘WIFT’ प्रणालीबाट बाहिरिए।

विदेशी मुद्रा संकटः आयातकर्ताले डलर नपाउँदा बैंकमार्फत व्यापारिक कारोबार बन्दजस्तै भयो।

अन्ततः, बैंकिङ क्षेत्रले आफ्नो वास्तविक कार्य पूँजी परिचालन र लगानी सञ्जाल गुमायो।

सामाजिक प्रभाव : गरिबी र पलायन

२०१३ पछि भेनेजुएलाको जिडिपी ७५ प्रतिशतभन्दा बढीले घट्यो । विश्व बैंकका अनुसार, हाल देशको ९० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि पुगेको छ ।

करिब ८० लाखभन्दा बढी नागरिकले देश छोडेका छन्, जसलाई संयुक्त राष्ट्रसंघले Latin America’s largest refugee crisis भनेर परिभाषित गरेको छ। अर्थतन्त्र जोगाउन सरकारले विदेशी मुद्रामा कारोबार गर्न अनुमति दिए पनि, जनताको क्रयशक्ति कमजोर भएकाले सुधारको गति सुस्त छ ।

भेनेजुएलाको कथा कुनै एउटा देशको मात्र होइन, स्रोत र शक्तिको दुरुपयोगले कसरी समृद्ध राष्ट्र पनि पतन हुन सक्छ भन्ने विश्वव्यापी चेतावनी हो । तेलको धन, जनताको आशा, र राजनीतिक आदर्श यी सबै कुरा एकछिनका लागि उज्यालो भए पनि, अस्थिर शासन, गलत नीतिहरू र संस्थागत क्षयले अन्ततः त्यो उज्यालो अँध्यारोमा हरायो।

पछिल्लो अवस्था

हरेक पटक भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो टेलिभिजनमा देशवासीलाई सम्बोधन गर्न आउँदा, उनी उत्साहपूर्वक भन्छन् , ‘हाम्रो अर्थतन्त्र तीव्र गतिमा पुनःउत्थान हुँदैछ।’ सरकारी तथ्यांक अनुसार  पछिल्ला महिनाहरूमा देशको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको बताइन्छ।

वास्तवमा, भेनेजुएलाको केन्द्रीय बैंक (Banco Central de Venezuela) जसमा सत्तारूढ “चाभिज्मो” (Chavismo) विचारधाराको पूर्ण नियन्त्रण छ,  यस वर्षको पहिलो छ महिनामा सात प्रतिशत आर्थिक वृद्धि (GDP Expansion) भएको जनाएको छ ।

लाटिन अमेरिकी आर्थिक आयोग (ECLAC) लगायत केही क्षेत्रीय संस्थाहरूले यो तथ्यांकलाई मान्यता दिएका छन्, तर अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) ले भने यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। IMF का अनुसार, वेनेजुएलाको वास्तविक वृद्धि १ प्रतिशतभन्दा थोरै बढी मात्र छ र २०२५ को अन्त्यसम्म मुद्रास्फीति दर करिब २७० प्रतिशत पुग्नेछ।

‘कमजोर शरीरको अर्थतन्त्र फेरि सास फेरिरहेको छ’ मादुरो

मादुरोले हालै भनेका थिए, ‘केही वर्षअघि चरम कमजोरीमा पुगेको हाम्रो अर्थतन्त्र अहिले सुधारको अवस्थामा छ। हामीले यो शरीरको हेरचाह गर्नैपर्छ।’ तेल उत्पादनमा आएको भारी गिरावट र दशकअघिको आर्थिक पतनपछि, भेनेजुएलाले पछिल्ला चार-पाँच वर्ष अस्थिर आर्थिक अवस्थासँग बितायो, कहिले थोरै सुधार, कहिले झन् संकट।

देशमा अझै पनि गम्भीर सामाजिक समस्या र सार्वजनिक सेवामा चरम अव्यवस्था कायम छ, जसका कारण लाखौँ नागरिक विदेश पलायन भइसकेका छन्। तर, मादुरोले केही वर्षअघि बजार–केन्द्रित सुधार (market reforms) ल्याएपछि दैनिक आवश्यक वस्तुको अभाव र कतारमा बस्ने समस्या केही हदसम्म घटेको छ।

अर्थतन्त्र अझै सानो आकारमा सीमित

आजको भेनेजुएलाको अर्थतन्त्र इतिहासिक आकारको ३० प्रतिशत मात्र बाँकी छ। केही दशकअघि यो देश लाटिन अमेरिकाको पाँचौं ठूलो अर्थतन्त्र थियो । हाल देशको अन्तर्राष्ट्रिय बैंक ऋणमा पहुँच छैन, तर २०२२ मा मात्रै भेनेजुएलाले १० प्रतिशतको वृद्धि हासिल गरेको तथ्य पनि छ।

२०२५ का सरकारी तथ्याङ्कमाथि शंका

सरकारले प्रस्तुत गरेका आर्थिक तथ्याङ्कबारे अर्थशास्त्रीहरूले शंकास्पद रहेको बताएका छन् । भेनेजुएलामा कठोर समीक्षा गर्नेलाई समेत “आतंकवादी” भनेर कारवाही गर्न सकिने भएकाले धेरै विश्लेषकहरू नाम नबताई मूल्यांकन गर्छन्।

तर सबैभन्दा गम्भीर समस्या भनेको, वृद्धि होइन, बढ्दो मुद्रास्फीति हो। अमेरिकासँग बढ्दो राजनीतिक तनाव र बजारमा फैलँदै गएको नकारात्मक मनोविज्ञानले अवस्था झन् जटिल बनाएको छ।

मुद्रा अवमूल्यन र दोहोरो विनिमय दर

अगस्टदेखि अहिलेसम्म, सरकारी विनिमय दरमा अमेरिकी डलर १३३ बोलिभरबाट २१७ बोलिभरसम्म पुगेको छ,  अर्थात् ६० प्रतिशत अवमूल्यन। गैरआधिकारिक बजारमा भने डलर ३१० बोलिभरमा कारोबार भइरहेको छ।

सरकारले सट्टा–बजारमा डलरको “कालो कारोबार” गर्नेलाई कडा दण्ड दिन्छ र व्यवसायिक संस्थाहरूसँग आधिकारिक दरमा कारोबार गर्न दबाब दिन्छ। तर व्यवहारमा, व्यापारीहरू ३१० बोलिभरको दरमा कारोबार गर्न बाध्य छन्। आधिकारिक दर (२१७) र बजार दर (३१०) बीचको ४३ प्रतिशतको अन्तर ले बजेट बनाउने, भुक्तानी गर्ने वा स्टक व्यवस्थापन गर्ने काम निकै कठिन बनाएको छ।

मुद्रास्फीति दर : आधिकारिक तथ्यांक लुकाइएको

२०२५ को मुद्रास्फीति सम्बन्धी अधिकारिक तथ्यांक प्रकाशित भएको छैन। तर अर्थशास्त्री होसे गुएरा (José Guerra) पूर्व सांसद र भेनेजुएलाको केन्द्रीय विश्वविद्यालयका प्राध्यापकका अनुसार, वास्तविक मुद्रास्फीति दर IMF को अनुमानभन्दा पनि बढी, अर्थात् ४०० प्रतिशतभन्दा माथि पुग्ने सम्भावना छ।

गुएराले भनेका छन्, ‘हाइपरइन्फ्लेशन पुनः फर्किन सक्ने खतरा छ।’ उनका अनुसार, यस वर्ष GDP वृद्धि अधिकतम २ प्रतिशत मात्र रहन सक्छ। सरकारले भने बजारमा वैकल्पिक विनिमय दर रिपोर्ट गर्ने समूहहरूलाई बन्द गरेको छ र केही व्यक्तिहरूलाई पक्राउ गर्दै ‘आर्थिक आतंक’ को आरोप लगाएको छ।

भेनेजुएलाको उदाहरणले नेपालजस्ता विकासोन्मुख राष्ट्रहरूलाई पनि गहिरो सन्देश दिन्छ । राजनीतिक स्थायित्व, वित्तीय अनुशासन र उत्पादनमुखी लगानी नै दीर्घकालीन समृद्धिको आधार हो । प्राकृतिक स्रोतको दुरुपयोग र राजनीतिक द्धन्द्वले कुनै पनि देशलाई धनबाट गरिबीमा लैजान सक्छ, जस्तै भेनेजुएला ।