प्राइम कमर्सियल बैंकले आफ्नो नवौँ वार्षिक साधारणसभा माघ १२ गते काठमाडौँको कमलादीमा गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि बैंकले पुस २८ गतेदेखि माघ १२ गतेसम्म सेयरधनी पुस्तिका बन्द गर्ने जानकारी दिएको छ ।
उक्त साधारणसभाबाट बैंकले ८५ करोड २२ लाख १० हजार ३ सय २१ रुपैयाँ बराबरको वोनश सेयर र कर प्रयोजनका लागि ४ करोड ४८ लाख ५३ हजार १ सय ७५ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ । सोही साधारणसभाले बिराटलक्ष्मी विकास बैङ्क र कण्ट्री डेभलपमेण्ट बैङ्क लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा गरिने अन्तिम सहमति तथा सम्झौपत्रको अनुमोदन गर्दैछ ।
प्राइमले दुवै बैंकको चलअचल सम्पत्ति तथा दायित्व मूल्यांकन प्रतिवेदन (डीडीए) अनुसार सेयर मूल्य पारित गरी खरिद गर्ने प्रस्ताव पेश हुने जनाएको छ । बैंकले चुक्ता पुँजी बढाएर ६ अर्ब ३२ करोड ५४ लाख रुपैयाँ पुर्याउने प्रस्ताव साधारणसभामा पेश गर्ने भएको छ ।
विराटलक्ष्मी र कण्ट्रीले पनि माघ १२ गते नै साधारणसभा बोलाएका छन् । विराटले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई साढे १८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ । बैंकलाई प्राइमले खरिद गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस्तै कण्ट्रीले गत आवमा गरेको नाफाबाट सेयरधनीलाई ८.४ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गर्ने भएको छ ।