
बैंकिङ खबर/ चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपाल राष्ट्र बैंकले कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ। बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधामार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब ६० करोड रुपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरिएको हो।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विभिन्न मौद्रिक उपकरणमार्फत ४४ खर्ब ७६ अर्ब ४५ करोड रुपैयाँ बराबरको तरलता प्रशोचन गरिएको थियो। यस अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर १ अर्ब ६ करोड खुद खरिद गरी १४९ अर्ब ४२ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले अमेरिकी डलर ८३ करोड ४७ लाख खुद खरिद गरी १११ अर्ब ९७ करोड रुपैयाँ बराबरको तरलता प्रवाह गरेको थियो।
समीक्षा अवधिमा अमेरिकी डलर ३८ करोड बिक्री गरी ५३ अर्ब २४ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर ५६ करोड बिक्री गरी ७५ अर्ब ३९ करोड रुपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद गरिएको थियो।
