
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा.गुणाकर भट्ट बिहीबार अवकाश पाउने भएका छन्। कार्यकारी निर्देशकमा बढुवा भएको सात वर्ष पूरा भएकाले उनी निर्धारित कार्यकाल पूरा गरी अवकाश हुँदैछन्।
डा. भट्ट २०५७ असार १ गते अधिकृत पदमार्फत नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका थिए। सात वर्षअघि कार्यकारी निर्देशकमा बढुवा भएका उनी सो पदमा कार्यरत रहँदै आएका थिए। राष्ट्र बैंकमा कार्यकारी निर्देशकको पदावधि सात वर्षको रहन्छ।
कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग, बैंक सुपरिवेक्षण विभाग, बैंक तथा वित्तीय संस्था नियमन विभाग, आर्थिक अनुसन्धान विभाग र राष्ट्र ऋण व्यवस्थापन विभागको प्रमुखका रूपमा जिम्मेवारी सम्हालेका थिए। पछिल्लो समय उनी गभर्नर कार्यालयमा कार्यरत थिए।
डा. भट्ट यसपालि गभर्नरको दौडमा पनि चर्चामा रहेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सिफारिसमा पार्टीको कोटाबाट गभर्नर बनाइने वाचा पाएका भट्टले गत वैशाख ५ गते कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए।
तर तत्कालीन कायममुकायम गभर्नर नीलम ढुंगाना तिम्सिनाले उनको राजीनामा स्वीकृत गर्न अस्वीकार गरेकी थिइन्। नीलम स्वयं पनि गभर्नरका दावेदार थिइन्।
