
बैंकिङ खबर/ सरकारले अब नेपाल संवत्लाई राष्ट्रिय रूपमा थप संस्थागत गर्ने तयारी थालेको छ। प्रधानमन्त्री सुशीला कार्कीले नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
बुधबार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुर थिमीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यसबारे जानकारी गराएकी हुन्।
उनले भनिन्, “नेपाल राष्ट्र बैंकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु।”
प्रधानमन्त्री कार्कीले नेपाल संवत्को ऐतिहासिक र सांस्कृतिक महत्वबारे चर्चा गर्दै भनिन्, “११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा शंखधर साख्वाले गरिब र ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी नेपाल संवत्को शुरुवात गर्नुभएको थियो। उहाँको त्यो कार्य सामाजिक एकता, त्याग र मानवीयताको प्रतीक हो, जसले आज पनि हामीलाई प्रेरणा दिन्छ।”
शंखधर साख्वालाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने वि.सं. २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता दिइएको हो।
प्रधानमन्त्री कार्कीले सरकारी कार्यालयहरूमा पनि नेपाल संवत्को प्रभावकारी कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिने वचन दिइन्। साथै, नेपाल संवत् प्रतिष्ठानसँग सहकार्य गर्दै कार्यान्वयनको अनुगमन गर्ने तयारी भएको पनि बताइन्।
कार्यक्रममा नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाको योगदानको स्मरण गर्दै वक्ताहरूले नेपाल संवत्लाई नेपालको मौलिक पहिचानका रूपमा राष्ट्रिय जीवनमा व्यवहारिक रूपमा लागू गर्न सरकारको निर्णय ऐतिहासिक हुने बताएका थिए।