
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेल १४ अक्टोबर, २०२५ मा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा आयोजित बैठकमा सहभागी भएका छन्। उक्त बैठक विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकको क्रममा आयोजना गरिएको सार्क फाइनान्स गभर्नर समूहको बैठक हो।
बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा भएको बैठकमा दक्षिण एशियाका केन्द्रीय बैंकका गभर्नर, डेपुटी गभर्नर, अर्थ मन्त्रालयका अधिकारी तथा अन्य प्रतिनिधिहरूको सहभागिता थियो।
बैठकमा सम्बोधन गर्दै गभर्नर पौडेलले नेपालको वर्तमान आर्थिक स्थिति विश्लेषण गर्दै मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरू सहज अवस्थामा रहेको बताए। तथापि, हालैको राजनीतिक परिस्थितिले वित्तीय सन्तुलन र दिगो आर्थिक वृद्धिमा चुनौती थपेको उनले बताए। उनले अर्थतन्त्रको पुनरुत्थान र गतिशीलताको निम्ति नीतिगत सहजीकरणको प्रयास सुरु गरिएको जानकारी पनि दिए।
उक्त अवसरमा उद्घाटन मन्तव्य राख्दै बङ्गलादेश बैंकका गभर्नर मन्सुरले दक्षिण एसियामा केन्द्रीय बैंकबीच क्षेत्रीय सहकार्य र असल अभ्यास आदानप्रदानका लागि सार्क फाइनान्स साझा मञ्च रहेको धारणा राखे। सहभागीहरूले आ–आफ्नो देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रस्तुत गरे।

बैठकमा सार्क पेमेन्ट काउन्सिलको प्रभावकारिता, वित्तीय समावेशीकरण, सदस्य राष्ट्रबीच ‘करेन्सी स्वाप’को सम्भावना, साझा अनुसन्धान र तथ्याङ्क प्रणाली, सार्क छात्रवृत्ति तथा आगामी कार्यदिशाका विषयमा छलफल भएको थियो। सहभागी केन्द्रीय बैंकका गभर्नरहरूले आगामी दिनमा आर्थिक तथा वित्तीय क्षेत्रका समसामयिक विषयमा समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।
बैठकबाट सार्क फाइनान्सको अध्यक्षता भुटानको ‘रोयल मनिटरी अथोरिटी’मा हस्तान्तरण भएको छ। कार्यक्रममा आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. रामशरण खरेल र गभर्नरको कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि सहभागी थिए।
सार्क फाइनान्स दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा आबद्ध मुलुकका केन्द्रीय बैंकका गभर्नर तथा अर्थ सचिवहरूको सञ्जाल हो। यसले समष्टिगत आर्थिक नीतिको विषयमा छलफल र पारस्परिक सहयोग आदानप्रदान गर्ने उद्देश्यले सन् १९९८ मा स्थापना पाएको हो। सन् २००२ जनवरीमा काठमाडौंमा सम्पन्न एघारौँ सार्क शिखर सम्मेलनले यसलाई औपचारिक मान्यता दिएको थियो।



