Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नयाँ ५० रुपैयाँ नोट छपाइ ठेक्का ‘चाइना बैंकनोट प्रिन्टिङ’ कम्पनीलाई

२०८२ आश्विन २९ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइको ठेक्का चिनियाँ कम्पनी ‘चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिण्टिङ कर्पोरेशन’लाई दिने भएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले बुधबार ठेक्का दिने आशय पत्र जारी गरेको हो। उक्त ठेक्काअनुसार कम्पनीले नयाँ नोटको डिजाइन, छपाइ, आपूर्ति र वितरण गर्नेछ।

केन्द्रीय बैंकका अनुसार, ठेक्काको कुल मूल्य १ करोड ४ लाख २२ हजार ५३५ अमेरिकी डलर २१ सेन्ट (झण्डै १ खर्ब ४७ करोड रुपैयाँ) बराबरको छ। यसअनुसार, एक थान ५० रुपैयाँको नोट छपाइका लागि झण्डै ३ रुपैयाँ ५० पैसा खर्च हुने भएको छ।

राष्ट्र बैंकले बताएको अनुसार, चिनियाँ कम्पनीको प्रस्ताव अन्य प्रतिस्पर्धी कम्पनीहरूभन्दा सस्तो र प्राविधिक रूपमा योग्य ठहरिएको हो।

राष्ट्र बैंकले यसअघि पनि विभिन्न मूल्यका नोटहरू विदेशी कम्पनीमार्फत छपाइ गर्दै आएको परम्परा निरन्तरता दिँदै आएको छ। ठेक्का स्वीकृत भएपछि कम्पनीले सुरक्षा विशेषतासहितको नमुना डिजाइन तयार गरी राष्ट्र बैंकमा बुझाउने प्रक्रिया सुरु गर्नेछ।