Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति(पूर्णपाठ)

२०८२ आश्विन २८ गते

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिना भदौसम्मको आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार मुद्रास्फीति, विदेशी मुद्रा सञ्चिति, विप्रेषण, आयात–निर्यातलगायत सूचकहरूमा सकारात्मक प्रगति देखिएको छ।

राष्ट्र बैंकका अनुसार उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित वार्षिक मुद्रास्फीति १.८७ प्रतिशतमा सीमित छ। कुल विदेशी विनिमय सञ्चिति २८८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, जसले १६ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्नेछ। अमेरिकी डलरमा यो सञ्चिति २० अर्ब ४१ करोड बराबरको छ।

चालु खाता १३० अर्ब ६९ करोड रुपैयाँ र शोधनान्तर स्थिति १५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको राष्ट्र बैंकले जनाएको छ। विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ३३.१ प्रतिशत र अमेरिकी डलरमा २७.६ प्रतिशतले वृद्धि भएको छ। २०८२ सालको भदौ महिनामा मात्र १७४ अर्ब ६७ करोड रुपैयाँ बराबरको विप्रेषण आएको छ।

निर्यात ८८.६ प्रतिशत र आयात १६.२ प्रतिशतले वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ। यस अवधिमा नेपाल सरकारको कुल खर्च १८० अर्ब १७ करोड र राजस्व परिचालन १५७ अर्ब ५३ करोड रुपैयाँ भएको छ।

विस्तृत मुद्राप्रदाय ०.३ प्रतिशतले बढेको छ भने वार्षिक विन्दुगत आधारमा यो वृद्धि १२.४ प्रतिशत पुगेको छ। बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन ०.५ प्रतिशत र निजी क्षेत्रका कर्जामा ०.९ प्रतिशतले वृद्धि भएको छ।

अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१ दिन अवधिको ट्रेजरी बिलको ब्याजदर २.१३ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको औसत ब्याजदर ३.९६ प्रतिशत र कर्जाको ब्याजदर ७.६६ प्रतिशत रहेको उल्लेख गरिएको छ।