Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

सामाजिक सञ्जालमार्फत वित्तीय ठगी बढ्दो, सतर्कता अपनाउन राष्ट्र बैंकको अपिल

admin २०८२ आश्विन २८ गते
सेयर:

बैंकिङ खबर/ पछिल्लो समय विभिन्न सामाजिक सञ्जाल र मोबाइल एपहरूमार्फत वित्तीय ठगीका घटना तीव्र गतिमा बढिरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट WhatsApp, Viber, Messenger, इमेल वा मोबाइल म्यासेजमा ‘लक्की ड्र’मा परेको, महँगो मोबाइल वा पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, धन–सुन फेला परेको वा छोटो समयमा धेरै प्रतिफल पाइने योजना जस्ता आकर्षक सन्देश पठाइने क्रम बढ्दो छ ।

नेपाल राष्ट्र बैंकले नागरिकलाई यस्ता सन्देशबाट सजग रहन आग्रह गरेको छ । केन्द्रीय बैंकका अनुसार यस्ता सन्देशहरू सामान्यतया वित्तीय ठगीका लागि पठाइएका हुन्छन्, जसको उद्देश्य सर्वसाधारणको व्यक्तिगत वा वित्तीय विवरण चोरी गरेर आर्थिक हानि पुर्‍याउनु हो ।

“अपरिचित व्यक्तिको सन्देशमा विश्वास नगर्नुहोस्, आफ्नो बैंक खाता नम्बर, पासवर्ड, एटीएम पिन वा OTP कोड कसैलाई पनि नदिनुहोस्,” राष्ट्र बैंकले जनाएको छ ।

साथै, अनलाइनमार्फत सहज नाफा वा आकर्षक प्रस्तावमा लगानी नगर्न र कुनै पनि अनौठो प्रस्तावबारे आधिकारिक निकायसँग जानकारी लिन आग्रह गरिएको छ ।

वित्तीय ठगीका घटना रोकथामका लागि बैंक तथा वित्तीय संस्था, दूरसञ्चार कम्पनी र सुरक्षा निकायबीच समन्वय बढाइएको केन्द्रीय बैंकले जनाएको छ । साथै, ठगीमा परेका वा शंका लागेका सन्देश प्राप्त हुनेबित्तिकै नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।