२०८२ आश्विन २७ गते

राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषको ३ अर्ब ३० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको ३ अर्ब ३० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा एक वर्षका लागि मुद्दती निक्षेपका रूपमा राख्ने भएको छ।

केन्द्रीय बैंकले उक्त निक्षेप लिन इच्छुक बैंक तथा वित्तीय संस्थाहरूलाई ब्याजदरसहितको प्रस्ताव गोप्य सिलबन्दीमार्फत पेश गर्न आग्रह गरेको छ।

राष्ट्र बैंकले निक्षेप राख्ने संस्थाहरूका लागि केही मापदण्ड तोकेको छ। बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, न्यूनतम कुल पूँजीकोष कायम भएको हुनुका साथै कुल कर्जा सापटीको अनुपात आठ प्रतिशतभन्दा बढी र खुद निष्क्रिय कर्जा (एनपीएल) अनुपात तीन प्रतिशतभन्दा बढी हुनु नहुने शर्त तोकिएको छ।

त्यसैगरी, बैंकले तोकिएकै अनुसारको खुद तरल सम्पत्ति अनुपात कायम गरेको हुनुपर्नेछ भने कर्जा–निक्षेप अनुपात पनि निर्धारण गरिएको सीमा भित्र हुनुपर्नेछ।

अघिल्लो आर्थिक वर्षको नाफा–नोक्सानको हिसाबले सम्बन्धित संस्था खुद नाफामा रहेको हुनुपर्नेछ। यदि कुनै बैंक वा वित्तीय संस्था शीघ्र सुधारात्मक कारबाहीमा परेको भए, त्यसबाट फुकुवा भएको कम्तीमा छ महिना पुगेको हुनुपर्नेछ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ८६(ख) अनुसार समस्याग्रस्त घोषणा नभएको, भएमा पनि फुकुवा भएको कम्तीमा छ महिना पूरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ। साथै, निक्षेप लिने संस्था सार्वजनिक सेयर जारी गरिसकेको हुनुपर्ने शर्त पनि राखिएको छ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरूमा २ अर्ब ६४ करोड रुपैयाँ, विकास बैंकहरूमा ४९ करोड ५० लाख रुपैयाँ र वित्त कम्पनीहरूमा १६ करोड ५० लाख रुपैयाँ निक्षेप राख्ने तयारी गरेको जनाएको छ।

Gratuity-and-Pension-Fund-Investment-Notice-2082.06.27