
बैंकिङ खबर/ जेन–जी आन्दोलनको दोस्रो दिन २४ भदौमा नयाँ बानेश्वरस्थित संसद् भवन नजिकै रहेको राष्ट्रिय वाणिज्य बैंक शाखामा भएको लुटपाटमा संलग्नलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन ।
आन्दोलनका क्रममा उक्त बैंकमा ५ करोडभन्दा बढी नगद र करिब १८ किलो सुन लुटिएको बताइएको छ । आन्दोलन हिंसात्मक बन्दै आगजनी, तोडफोड र लुटपाटमा परिणत हुँदा बैंकमै तोडफोड गरी लुटपाट भएको थियो । बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत पवन रेग्मीका अनुसार नयाँ बानेश्वर शाखाबाट मात्रै ३८ करोड ४० लाख रुपैयाँ बराबरको सम्पत्ति लुटिएको हो । जसमा ५ करोड १५ लाख नगद र १७,९४५ ग्राम सुन समावेश छ ।
घटनाबारे हाल जिल्ला प्रहरी परिसर, भद्रकालीले अनुसन्धान गरिरहेको छ । परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार हालसम्म दुई जनालाई मात्र पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिरहाका नरेशकुमार यादव र दोलखाका दीपक श्रेष्ठ रहेका छन् ।
उनीहरुविरुद्ध चोरी मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको छ । तर उनीहरूबाट करिब चार लाख रुपैयाँ र थोरै सुन मात्र बरामद भएको प्रहरीको दाबी छ । बाँकी सम्पत्तिको कसले लग्यो भन्ने अझै पत्ता लागेको छैन । पक्राउ परेकाहरूले बरामद वस्तुबाहेक अरु केही नलिएको र अन्य लुटेराहरूलाई नचिन्ने दाबी गरेका छन् ।
‘भिडिओ खिच्दा लुटेराले पैसा फ्याँके’
घटनाको पाँच दिनपछि ललितपुरका सुरेश देउलाले प्रहरीमा ५ लाख १० हजार रुपैयाँ बुझाएका थिए । उनका अनुसार बैंक लुटपाटकै भिडिओ खिच्दै गर्दा लुटेराले ‘तैले यही खोजेको होला’ भन्दै पैसाको बिटो फालिदिएका थिए । तर देउलाले कुनै लुटेरालाई नचिनेको बताएकाले उक्त पैसा कसरी र कसबाट आएको भन्ने अझै स्पष्ट छैन ।
पाँच जनाको देखिएन संलग्नता

आन्दोलन तीव्र बन्दा नेपाली सेनाले राजधानीमा सुरक्षाको कमाण्ड लिएर फिल्डमा खटिएको थियो । सो क्रममा सेनाले बैंक लुटपाट गर्न खोजेको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो। तर प्रहरी अनुसन्धानले उनीहरूको लुटपाटमा प्रत्यक्ष संलग्नता प्रमाणित गर्न सकेन, र मुद्दा दर्ता पनि भएन।
प्रहरीको प्राविधिक अनुसन्धान जारी
प्रहरीले अहिले सीसीटीभी फुटेज, भिडिओ क्लिप, र तस्बिरहरूका आधारमा अनुसन्धान गरिरहेको छ । सम्भावित सुन–नगद कारोबार हुने सुनचाँदी पसलहरूमा निगरानी बढाइएको छ । प्रहरीले बिल–बिजकबिनाका सुन खरिद नगर्न नागरिकलाई आग्रह गरेको छ ।
आन्तरिक व्यवस्थापनमाथि पनि शंका
घटनाको लामो समयसम्म पत्ता लाग्न नसक्दा बैंककै आन्तरिक व्यवस्थापन पक्ष पनि शंकाको घेरामा परेको छ। ठूलो रकम र सुन चोरी हुँदा आन्तरिक सुरक्षा र निगरानी प्रणालीमा कमजोरी देखिएको भन्दै प्रहरी र बैंक दुबैको जवाफदेहीतामाथि प्रश्न उठ्न थालेका छन् ।
एक महिनापछि पनि प्रमुख लुटेरा र सम्पूर्ण सम्पत्ति बेपत्ता हुँदा घटना अझै रहस्यमय बनेको छ ।
उक्त घटनापछि नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले पनि शाखाको अवलोकन गरेका थिए । गभर्नर पौडेलले उक्त शाखामा आन्दोलनका क्रममा पुगेको क्षतिको अवस्थाबारे स्थलगत जानकारी लिएका थिए ।



