
बैंकिङ खबर/ घर बनाउने सोच राख्नेका लागि अहिलेको समय निकै उपयुक्त देखिएको छ । हाल वाणिज्य बैंकहरूले असोज महिनाका लागि सार्वजनिक गरेका नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दति निक्षेपमा ब्याजदर घट्दै गएको छ ।
यसको प्रत्यक्ष फाइदा घरकर्जा लिने ग्राहकहरूले पाउँदैछन् । ब्याजदर घट्दा घरकर्जा सस्तो हुने भएकाले धेरैले अहिले आफ्नो घर निर्माण वा खरिदको योजना अघि बढाइरहेका छन्।
नेपाल राष्ट्र बैंकले बैंकहरूको ब्याजदरसम्बन्धी तथ्यांक सार्वजनिक गरेको छ । त्यस अनुसार भदौमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.५७७ प्रतिशतविन्दुमा रहेकोमा असोजमा घटेर ५.४६३५ प्रतिशतविन्दुमा पुगेको छ । यसरी हेर्दा यो ०.११ प्रतिशतविन्दुले घटेको हो।
हाल देशभरका २० वाणिज्य बैंकमध्ये ९ वटा बैंकहरूले ब्याजदर घटाएका छन् भने केहीले स्थिर राखेका छन् । ब्याजदर घट्नुको मुख्य कारण प्रणालीमा पर्याप्त तरलता हुनु र ऋणको माग अपेक्षाकृत रूपमा कम हुनु हो। बैंकहरूमा रकम थुप्रिँदै गएकोले कर्जा प्रवाहमा प्रतिस्पर्धा बढ्दै गएको छ ।
यही प्रतिस्पर्धाको वातावरणमा अहिले बैंकहरूले घरकर्जामा स्थिर ब्याजदर योजना ल्याएका छन् । स्थिर ब्याजदरको अर्थ कर्जा लिँदा जुन ब्याजदरमा सहमति हुन्छ, त्यो ऋणको सम्पूर्ण अवधिभर परिवर्तन हुँदैन । यसले ग्राहकलाई आर्थिक योजना बनाउन सहज बनाउँछ, किनकि प्रत्येक महिनाको किस्ता स्थिर रहन्छ । बजारमा अहिले ७.४९ प्रतिशतदेखि ११.६५ प्रतिशतसम्मको स्थिर ब्याजदरमा घरकर्जा उपलब्ध छ ।
एभरेष्ट बैंकले सबैभन्दा सस्तो ७.४९ प्रतिशत ब्याजदरमा घरकर्जा दिने योजना ल्याएको छ । ग्लोबल आइएमइ बैंकले ७.९९ प्रतिशतमा घरकर्जा दिइरहेको छ। नबिल बैंकले ७ वर्षको लागि ८.९९ प्रतिशत र १० वर्षको लागि ९.४९ प्रतिशत ब्याजदरमा स्थिर घरकर्जा उपलब्ध गराएको छ ।
यस्तै लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक, एनआईसी एशिया, नेपाल बैंक, प्राइम बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक, सिद्धार्थ बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि आफ्ना ग्राहकका लागि विभिन्न स्थिर ब्याजदरका आकर्षक योजना सञ्चालनमा ल्याएका छन् ।



घरकर्जा आकर्षक हुनुका कारण ?
हाल बैंक प्रणालीमा पर्याप्त मात्रामा तरलता छ, तर कर्जाको माग त्यति उच्च छैन । बैंकहरूले राखेको निक्षेप बढ्दै जाँदा, त्यो रकम लगानीका लागि उपयुक्त क्षेत्र खोज्नुपर्ने बाध्यता हुन्छ । यस कारण बैंकहरूले ब्याजदर घटाएर ऋण प्रवाह बढाउने रणनीति लिएका हुन् ।
घरकर्जा भने अन्य ऋणको तुलनामा बढी सुरक्षित मानिन्छ, किनकि त्यसमा स्थिर तिर्ने क्षमता हुने मध्यमवर्गीय ग्राहक बढी हुन्छन् र घरजग्गा धितोको रूपमा रहने भएकाले बैंकको जोखिम पनि कम हुन्छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङका अनुसार, घरकर्जा बैंकका लागि सुरक्षित र दिगो लगानीको माध्यम हो । उनका शब्दमा,‘रियल सेक्टरको तुलनामा होम लोनको पोर्टफोलियो अझै कम छ। राष्ट्र बैंकको प्राथमिकतामा पनि होम लोन पर्छ, त्यसैले ब्याजदर घट्दो क्रममा हामीले स्थिर ब्याजदरको स्किम ल्याएका हौं।’
स्थिर ब्याजदरका अतिरिक्त परिवर्तित ब्याजदरमा पनि घरकर्जा सस्तो हुँदै गएको छ । हाल नेपाल बैंकले ५.९९ प्रतिशत, नबिल बैंकले ६.४२ प्रतिशत र एभरेष्ट बैंकले ६.४० प्रतिशत ब्याजदरमा परिवर्तित योजनाअन्तर्गत घरकर्जा दिइरहेका छन् । यी दरहरू गत वर्षको तुलनामा निकै कम छन् । ब्याजदर घट्दा कर्जाको मासिक किस्ता पनि घट्ने भएकाले ऋण तिर्ने दायित्व कम महसुस हुन्छ ।
हालको अवस्थालाई घर बनाउने वा खरिद गर्नेका लागि अत्यन्तै लाभदायक समय मानिन्छ । ब्याजदर घट्नुले मात्र होइन, घर निर्माण सामग्रीका मूल्य पनि केही हदसम्म स्थिर रहनुले यसलाई अझ उपयुक्त बनाएको छ । यद्यपि बैंकहरूले ल्याएका स्थिर ब्याजदरका योजना सीमित अवधिका लागि मात्र हुने भएकाले चाँडै निर्णय गर्नुपर्ने सल्लाह पनि दिइन्छ।
घर बनाउने सपना पूरा गर्न चाहनेका लागि अब अवसर थप सहज भएको छ । बैंकहरूले ल्याएका स्थिर ब्याजदरका योजनाले लामो अवधिको निश्चितता प्रदान गर्छ। जसले गर्दा ग्राहकले आफ्नो आर्थिक योजना सजिलै बनाउन सक्छन्। उदाहरणका लागि, ५० लाख रुपैयाँको घरकर्जा ८ प्रतिशत ब्याजदरमा लिँदा मासिक किस्ता करिब ३८ हजार रुपैयाँजति आउँछ। यो रकम स्थिर रहँदा अन्य खर्च योजनाबद्ध गर्न सजिलो हुन्छ।
बैंकहरूका प्रतिस्पर्धात्मक ब्याजदरले घरकर्जा लिनेहरूको संख्या बढ्ने अपेक्षा गरिएको छ । यसले न केवल बैंकको व्यवसायिक वृद्धिलाई सहयोग पु¥याउनेछ, तर निर्माण क्षेत्र, रियल इस्टेट बजार र रोजगारमा समेत सकारात्मक प्रभाव पार्नेछ । निर्माण सामग्री, सिमेन्ट, फलाम, पेन्ट तथा फर्निचर व्यवसायमा पनि गतिशीलता आउने अनुमान गरिएको छ।
समग्रमा हेर्दा, ब्याजदर घट्दै जाँदा घरकर्जा बजार आकर्षक बन्दै गएको छ। स्थिर ब्याजदरमा लिने होस् वा परिवर्तित ब्याजमा, दुबै योजनामा अहिलेका प्रस्तावहरू इतिहासकै सस्तो मानिएका छन्।
घरकर्जा सस्तो हुनुको अर्थ देशमा रियल इस्टेट क्षेत्रमा गति आउनु हो। यसले बैंक, निर्माण कम्पनी, आपूर्तिकर्ता र सर्वसाधारण सबैलाई फाइदा पुर्याउनेछ ।
अहिलेको समय घर बनाउने सपना पूरा गर्न अत्यन्तै उपयुक्त छ। ब्याजदर घटेका छन्, बैंकहरू प्रतिस्पर्धामा छन्, र ग्राहकका लागि विकल्प प्रशस्त छन्। अब आफ्नै घर बनाउने योजना टार्दै बस्नु पर्ने कारण देखिँदैन। घर र जग्गा बजारमा स्थिरता आउँदै गर्दा, सस्तो ब्याजदरले आम नागरिकका लागि स्थायी बसोबासको सपना हौसला जगाइदिएको छ।