
बैंकिङ खबर/ राष्ट्रिय सहकारी बैंक लिमिटेडले आगामी असोज २६ गतेदेखि लागू हुने गरी ब्याजदरमा पुनःसमायोजन गरेको छ। बैंकले यसपटक बचत खाताका अधिकांश शिर्षकमा ब्याजदर घटाएको छ भने कर्जातर्फको दर भने प्रायः यथावत राखेको छ।
बैंकका अनुसार नयाँ दरअनुसार बचत खातामा न्यूनतम १ प्रतिशतदेखि अधिकतम ४ प्रतिशतसम्म ब्याजदर लागू हुनेछ। साधारण बचत, विशेष बचत र सुपर बचत खातामा क्रमशः १ प्रतिशतदेखि १.१५ प्रतिशतसम्म ब्याज तोकिएको छ। त्यसैगरी एनसिबिएल समुन्नत बचत खातामा १ प्रतिशतदेखि १.१५ प्रतिशत, एनसिबिएल प्रिमियम बचतमा १ प्रतिशत, अनिवार्य नियमित बचतमा ४ प्रतिशत, र क्रमिक बचतमा ३.२० देखि ३.४० प्रतिशतसम्म ब्याजदर तोकिएको बैंकले जनाएको छ।
मुद्दती निक्षेपका लागि बैंकले १.७५ प्रतिशतदेखि ४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ। यसअघि भदौ १० गतेदेखि लागू भएको दरमै आधारित रहे पनि यसपटक केही संशोधन गरिएको बैंकले स्पष्ट पारेको छ। कर्जातर्फ बैंकले न्यूनतम ५.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशतसम्म ब्याजदर कायम राखेको छ। महिला सशक्तीकरण कर्जाको ब्याजदर यसअघि ५.७५ प्रतिशत रहेकोमा घटाएर ४.९९ प्रतिशत गरिएको छ।
त्यसैगरी, कृषि तथा कृषि परियोजना कर्जा (आवधिक/चालुपूँजी)मा ५.५० देखि ५.७५ प्रतिशत, व्यवसायिक आवधिक कर्जामा ६.८५ देखि ६.९९ प्रतिशत, व्यावसायिक चालुपूँजी कर्जामा ७.५० प्रतिशत, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, लघु तथा गरिबी निवारण, र पर्यटन प्रवर्द्धन कर्जामा ६.७५ देखि ६.९९ प्रतिशत ब्याजदर तोकिएको छ।
साना तथा मझौला कर्जामा ६.५० प्रतिशत, हायर पर्चेज कर्जामा ६.७५ देखि ६.९९ प्रतिशत, तरलता व्यवस्थापन कर्जामा ६.९९ प्रतिशत, एनसिबिएल सहज कर्जामा ६ प्रतिशत, उज्यालो नेपाल कर्जामा ६.९९ प्रतिशत, र सदस्य सम्बद्धि कर्जामा ६ प्रतिशत ब्याजदर लागू हुनेछ। त्यसैगरी, दिगो/सबल सहकारी कर्जामा ७.२५ प्रतिशत र मुद्दती निक्षेप कर्जामा थप २ प्रतिशत ब्याजदर तोकिएको छ।
बैंकले घर घडेरी खरिद तथा भवन निर्माण कर्जाका लागि ब्याजदर स्वःलगानी नियमानुसार निर्धारण गरिने जनाएको छ। साथै, अपाङ्ग, दलित र महिलाद्वारा सञ्चालित सहकारी संस्थाहरूलाई प्रकाशित ब्याजदरमा ०.५० प्रतिशतसम्म थपघट गर्न सकिने व्यवस्था गरिएको छ। यद्यपि, यस्तो सुविधा दोहोरो रूपमा प्रयोग गर्न नपाइने स्पष्ट गर्दै बैंकले ब्याजदर समायोजनको निर्णय सहकारी क्षेत्रको दिगो आर्थिक सन्तुलन कायम राख्नका लागि गरिएको जनाएको छ।