Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
Banner News

राष्ट्र बैंकद्वारा रेमिट्यान्स नीतिमा परिवर्तन: सीमा वृद्धि गर्दै नयाँ व्यवस्था लागू

२०८२ आश्विन २४ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विदेशबाट नेपाल भित्र्याउन पाउने रेमिट्यान्स (विप्रेषण) रकमको सीमा वृद्धि गरेको छ। अबदेखि फिर्ता नगर्ने गरी पठाइने रेमिट्यान्स रकम २० लाख रुपैयाँबाट बढाएर २५ लाख रुपैयाँसम्म ल्याउन सकिने भएको छ।

केन्द्रीय बैंकका अनुसार नेपाली वा विदेशी नागरिक, साथै नेपालमा दर्ता भएका फर्म तथा कम्पनीहरूले सम्पत्ति बिक्री, कमिसन, शुल्क, पारिश्रमिक लगायतका प्रयोजनका लागि विदेशबाट पठाएको रकम विप्रेषण कम्पनीमार्फत खातामा जम्मा गर्न सक्नेछन्।

यस अन्तर्गत अब दैनिक २५ लाख रुपैयाँसम्मको रकम फिर्ता नहुने रेमिट्यान्सका रूपमा नेपाल ल्याउन पाइने व्यवस्था गरिएको छ।

राष्ट्र बैंकले विप्रेषण कम्पनीहरूलाई रकम संकलन र भुक्तानी गर्दा प्रचलित कानुनअनुसार ग्राहक पहिचान (KYC) सम्बन्धी कागजात अनिवार्य रूपमा लिनुपर्ने स्पष्ट गरेको छ।

यसबाहेक, यसरी आएको रेमिट्यान्सबारे प्रत्येक महिना समाप्त भएको सात दिनभित्र सम्बन्धित विभाग, सुपरीवेक्षण विभाग र आर्थिक अनुसन्धान विभागमा जानकारी गराउनुपर्ने व्यवस्था पनि गरिएको छ।

केन्द्रीय बैंकका अधिकारीहरूका अनुसार रेमिट्यान्स सीमा वृद्धिले वैदेशिक आय औपचारिक माध्यमबाट भित्र्याउने प्रवाह बढाउने तथा आर्थिक क्षेत्रको पारदर्शिता र विश्वसनीयता थप सुदृढ गर्ने अपेक्षा गरिएको छ।