२०८२ आश्विन २४ गते

राष्ट्र बैंकले बढायो सुन आयात कोटा : अब दैनिक २५ किलो आयात गर्न मिल्ने

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण बढाएको छ। केन्द्रीय बैंकले वाणिज्य बैंकहरूलाई अब दैनिक २० किलोका सट्टा २५ किलोसम्म सुन आयात गर्न अनुमति दिएको हो।

हालसम्म बैंकहरूले प्रतिदिन २० किलो सुन आयात गर्दै आएका थिए। ती बैंकहरूले आयात गरेको सुन व्यवसायीहरूले खरिद गरी गहनाका रूपमा सर्वसाधारणमा बिक्री गर्ने गर्दछन्।

बजारमा सुनको माग बढेसँगै केन्द्रीय बैंकले आयात कोटा बढाएको हो। पछिल्ला दिनमा सुनको मूल्य लगातार बढ्दै गएको छ। विश्व राजनीतिक अनिश्चितता र लागत वृद्धि पनि सुनको मूल्य वृद्धिका कारण बनेका छन्। लगानीकर्ताहरूले तुलनात्मक रूपमा सुरक्षित मानिने सुनमा रुचि बढाएपछि माग थप उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

दिपावली नजिकिँदै जाँदा सुनको माग अझै बढ्ने भएकाले राष्ट्र बैंकले कोटा वृद्धि गरेको हो। असोज २० गतेसम्म वाणिज्य बैंकहरूसँग जम्मा ३२ किलो मात्र सुन बक्यौता रहेको बैंकहरूले जनाएका छन्।

नेपाल बैंकर्स संघका अनुसार बुधबार सानिमा बैंकले ५० किलो सुन आयात गरिसकेको छ भने लक्ष्मी सनराइज बैंकले पनि शुक्रबार सोही परिमाणमा सुन आयात गर्ने तयारी गरेको छ। शुक्रबार बजारमा प्रतितोला सुनको मूल्य २ लाख ३५ हजार रुपैयाँ कायम भएको छ।

5-2082-83-amendment-in-UC