
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले तोकिएको समयभित्र नवीकरण नगरेका दुई मनि चेन्जर कम्पनीहरूको इजाजतपत्र रद्द गरेको छ।
राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले काठमाडौँको मित्रनगरस्थित युनियन करेन्सी एक्सचेन्ज र ठमेलस्थित केटीए ओम मनी एक्सचेन्जको इजाजतपत्र खारेज गरेको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनामा भनिएको छ, ‘नेपाल राष्ट्र बैंक मनि चेन्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधन सहित) को विनियम १९ को उपविनियम (३) अनुसार म्याद समाप्त भएको मितिले तीन महिनाभित्र नवीकरण नगर्ने मनी चेन्जरहरूको इजाजतपत्र रद्द गर्ने व्यवस्था अनुरूप यी दुई कम्पनीहरूको इजाजतपत्र रद्द गरिएको हो।’
राष्ट्र बैंकका अनुसार दुवै कम्पनीले तोकिएको समयभित्र नवीकरणका लागि आवश्यक कागजात र शुल्क पेश नगरेपछि उनीहरूको व्यवसायिक इजाजतपत्र स्वतः अमान्य भएको हो।
यससँगै ती कम्पनीहरूले अबदेखि वैदेशिक मुद्रा सटही व्यवसाय सञ्चालन गर्न नपाउने राष्ट्र बैंकले स्पष्ट पारेको छ। राष्ट्र बैंकले सबै मनि चेन्जर र वित्तीय सेवा प्रदायक संस्थालाई समयमै इजाजतपत्र नवीकरण गर्न र नियमावलीअनुसारको प्रक्रिया पूरा गर्न आग्रह गरेको छ, अन्यथा कानूनी कारबाहीको चेतावनी पनि दिएको छ।
