Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

गभर्नर पौडेलका लागि भाडामा घर खोज्दै राष्ट्र बैंक

२०८२ आश्विन १२ गते

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले गभर्नर विश्वनाथ पौडेलका लागि नयाँ आवास खोज्ने प्रक्रिया सुरु गरेको छ। भदौ २४ गते भैंसेपाटीस्थित उनको निजी निवास जेनजी आन्दोलनका क्रममा नष्ट भएपछि बैंकले तत्कालै नयाँ घर भाडामा लिन लागिएको हो।

बैंकको सम्पत्ति तथा सेवा व्यवस्थापन विभागले सूचना जारी गर्दै ललितपुरको बखुण्डोलदेखि भैंसेपाटीसम्मको क्षेत्रमा कम्तीमा १ रोपनीदेखि डेढ रोपनीसम्मको जग्गामा बनेको घर आवश्यक पर्ने उल्लेख गरेको छ।

घरमा कम्तीमा चार बेडरुम, सबै आधुनिक सुविधा, साढे दुईदेखि तीन तलासम्मको संरचना, छ वटा गाडी पार्किङ गर्ने पर्याप्त ठाउँ तथा सुरक्षा गार्ड बस्न मिल्ने सुविधा अनिवार्य हुने सूचनामा उल्लेख छ। इच्छुकले असोज २७ गतेसम्म प्रस्ताव बुझाउन सक्नेछन्।

गत जेठ ६ गते गभर्नर बनेका पौडेल भैंसेपाटीस्थित आफ्नै पाँच आना जग्गामा बनेको साढे दुई तले घरमा बस्दै आएका थिए। तर पार्किङ र सुरक्षा सुविधा अपुग भएकाले राष्ट्र बैंकले गत असारमा नजिकै ६ आना जग्गा भाडामा लिएको थियो।

यसअघि पनि राष्ट्र बैंकले तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालका लागि पाँच वर्षसम्म महाराजगञ्जमा घर भाडामा लिएको थियो। भाडामा लिइएको आवाससम्बन्धी सम्पूर्ण खर्च बैंकले नै व्यहोर्ने परम्परा रहेको छ।