नख्खु कारागारबाट फरार सहकारी ठगीका अभियुक्त केदारनाथ शर्मा पक्राउ

बैंकिङ खबर/ भदौ २४ गते नख्खु कारागारबाट फरार भएका सहकारी ठगी अभियुक्त केदारनाथ शर्मालाई प्रहरीले बुधबार ललितपुरको सानेपा क्षेत्रमा पक्राउ गरी पुनः नख्खु कारागारमा बुझाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी धर्मराज भण्डारीका अनुसार शर्मा रवि लामिछानेको जेलबाट रिहाइको क्रममा फरार भएका ७ सय कैदीमध्येका एक थिए। उनी भक्तपुरको शिवशिखर सहकारीका सञ्चालक हुन्।

बाँकेको खजुरा गाउँपालिका–६ घर भएका शर्मामाथि सहकारीको १४ अर्ब रुपैयाँ हिनामिनाको आरोप छ। उनलाई सोही मुद्दामा पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। यसअघि सीआईबीले उनलाई भारतको लखनउबाट पक्राउ गरी नेपाल ल्याएको थियो। शर्माको पक्राउपछि अब उनीमाथिको अनुसन्धान र मुद्दाको कारबाही छिटो अघि बढ्ने अपेक्षा गरिएको छ।