बैंकिङ खबर/ नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले सवारीसाधनको बिक्री बढाउन ऋणसम्बन्धी नीतिमा तत्काल फेरबदल गर्नुपर्ने बताएका छन्।
नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको ‘अर्थतन्त्र पुनरुत्थानको आगामी बाटो’ विषयक कार्यक्रममा बोल्दै उनले दशैँ, तिहारलगायत चाडपर्वमा अटो बजार सक्रिय हुने भएकाले तत्काल ऋण सहज बनाउन आग्रह गरे।
‘लोन टु भ्यालु रेसियो’ परिवर्तन गर्न माग
हाल राष्ट्र बैंकले गाडी खरिद गर्दा ६० प्रतिशतसम्म ऋण लिन सक्ने व्यवस्था गरेको छ। यसअघि पेट्रोल–डिजेल गाडीमा ५० प्रतिशत र विद्युतीय गाडीमा ८० प्रतिशत ऋण लिन सकिने व्यवस्था थियो। अटो व्यवसायीहरूले पुनः ८० प्रतिशतसम्म ऋण सुविधा उपलब्ध गराउन माग गर्दै आएका छन्।
अध्यक्ष चौधरीले भने, ‘आन्दोलनको जगमा बनेको सरकारले ६ महिनामा निर्वाचन गर्ने तयारी गरेको छ। अहिलेको सबैभन्दा ठूलो चुनौती राजस्व संकलन देख्छु। अटो क्षेत्रले अहिलेसम्म राजस्वमा ठूलो योगदान दिएको छ। दशैँमा कुल अटो बजारको ६० प्रतिशत बिक्री हुने गरेकोमा आन्दोलनका कारण यो घट्दा राजस्व पनि घट्छ।’
ग्राहक खर्च प्राथमिकतामा
उनका अनुसार गाडी खरिद गर्ने सोचमा रहेका ग्राहकहरूले अहिले आफ्नो आय अनिवार्य खर्चमै खर्च गर्न थालेका छन्। यसैले राष्ट्र बैंकले ‘लोन टु भ्यालु रेसियो’ तत्काल परिवर्तन गरेर गाडी खरिद गर्न सहज वातावरण बनाउनुपर्ने उनले जोड दिए।
विद्युतीय गाडी र पूर्वाधार
अध्यक्ष चौधरीले नेपालमा विद्युतीय गाडीको संख्या बढिरहेको बताए। तर, चार्जिङ स्टेसनको कमी भएकाले व्यवसायीहरूले नेपाल विद्युत प्राधिकरणसँग ट्रान्सफर्मर उपलब्ध गराउन माग गरेको बताए।
आपूर्ति अवरोध र चुनौती
उनले आन्दोलनका कारण अटो हब रहेको थापाथली क्षेत्रमा ठूलो क्षति पुगेको उल्लेख गरे। उत्तरी नाका केरुङ र तातोपानीबाट गाडी ल्याउन नसकिने अवस्थाले आपूर्ति पनि प्रभावित भएको उनले बताए। ‘कोरला नाकाबाट केही गाडी आएका छन्, तर पानी पर्नासाथ सडक बन्द हुन्छ। सडकको अवस्था सुधार गर्न सरकार गम्भीर हुनुपर्छ,’ चौधरीले भने।
अटो उद्योगमा लगानी
उनका अनुसार नेपालमा दुईपांग्रे र चारपांग्रे सवारी साधनमा लगानी भइरहेको छ। ब्याट्री, टायर र केही स्पेयर पार्टस् नेपालमै उत्पादन हुन थालेका छन् भने एसेम्बल उद्योगहरूले रोजगारी सिर्जना गरेका छन्।
सरकारले नेपालमै उत्पादन हुने ब्याट्री, टायर लगायतका उद्योगलाई एसेम्बल उद्योगसँग जोड्ने नीतिगत सहयोग गर्नुपर्ने उनको सुझाव छ।