प्रविधिको विकाससँगै बैंकिङ रोजगारी संकट : २०२७ सम्म के हुन्छ नेपाली बैंकिङ क्षेत्र ?

बैंकिङ खबर/ विश्व नै प्रविधिकरणको तीव्र गतिमा दौडिरहेको छ । कृत्रिम बुद्धिमत्ता, ब्लकचेन, डिजिटल बैंकिङ र फिनटेकको उदयले बैंक तथा वित्तीय क्षेत्रलाई तीब्र गति दिएको छ । तर, यो विकासले अर्को ठूलो प्रश्न पनि खडा गरिदिएको छ, ‘मानव संशाधनको भविष्य के हुन्छ ?’

पछिल्लो दशकमा प्रविधिको कारण विश्वभर लाखौं बैंकिङ कर्मचारीहरूको रोजगारी कटौती भएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन(आइएलओ) को तथ्यांकअनुसार मात्र सन् २०१५ देखि २०२२ सम्म युरोप, अमेरिका र एसियाका प्रमुख बैंकहरूले करिब ३० लाखभन्दा बढी कर्मचारी घटाएका छन् । सन् २०२७ सम्म यो संख्या दोब्बर हुन सक्ने प्रक्षेपण गरिएको छ ।

नेपाल पनि यसै बाटोमा अघि बढिरहेको छ । नेपालमा डिजिटल बैंकिङको तीव्र विस्तार, मोबाइल बैंकिङ, क्युआर पेमेन्ट, डिजिटल वालेट र कृत्रिम बुद्धिमत्ताको प्रयोगले ग्राहकलाई सहजता त दिएको छ तर बैंकिङ रोजगारीमा भने अनिश्चितता बढाएको छ ।

विश्वव्यापी परिवेश : प्रविधिले ल्याएको तीव्र परिवर्तन

अमेरिकाको जेपी मोर्गन, सिटी बैंक, डच बैंक जस्ता ठूला संस्थाहरूले एआइ र डिजिटल प्लेटफर्मलाई प्राथमिकता दिएपछि हजारौं कर्मचारी कटौती भएका छन् । उदाहरणका लागि, २०२३ मा मात्र सिटी बैंकले आफ्नो वैश्विक शाखा नेटवर्कमा १२ प्रतिशत स्टाफ कटौती गरेको थियो ।
पहिले ग्राहक सेवा गर्न सयौं ‘कस्टमर केयर अफिसर’ आवश्यक पथ्र्यो । अहिले भने एआइ च्याटबट र ‘भर्चुअल असिस्टेन्ट’ ले २४ घण्टा ग्राहकलाई सेवा दिइरहेका छन् ।

यसैगरी, ऋण स्वीकृति, कर्जा जोखिम विश्लेषण, दस्तावेज प्रमाणीकरण जस्ता कार्यहरू पनि अब मानवीय श्रम भन्दा बढी सफ्टवेयरमा निर्भर हुन थालेका छन् ।

नेपालमा प्रविधिको विस्तार र प्रभाव

नेपालमा डिजिटल बैंकिङ सेवा विस्तार पछिल्ला पाँच वर्षमा अभूतपूर्व रुपमा भएको छ । मोबाइल बैंकिङ, वालेट र क्विक रेस्पोन्ड कोड (क्युआर)बाट हुने विद्युतीय भुक्तानी उच्च दरमा बढेको छ । विद्युतीय भुक्तानीका अन्य प्रविधि भए पनि मोबाइल बैंकिङ, वालेट तथा क्युआरका प्रयोगकर्ता बढी भएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको हो ।

गत आर्थिक वर्ष ०८१/८२ मा मात्रै मोबाइल बैंकिङ कारोबार ४५.३४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा मोबाइल बैंकिङबाट ३४ खर्ब ५२ अर्ब ७८ करोड रुपैयाँ भुक्तानी भएको थियो । गत आव यसबाट ५० खर्ब १८ अर्ब ३३ करोड रुपैयाँबराबरको भुक्तानी भएको छ । दुई वर्षअघि आव ०७९/८० मा यसबाट २१ खर्ब ८५ अर्ब ९९ करोड रुपैयाँ भुुक्तानी भएको केन्द्रीय बैंकको तथ्यांक छ ।

संख्याका आधारमा यस्तो कारोबार ४५.९ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा ४२ करोड आठ लाख ९९ हजार आठ सय ७७ वटा मोबाइल बैंकिङ कारोबार भएको थियो । गत आवमा त्यस्तो संख्या ६१ करोड ४१ लाख ३३ हजार नौ सय १० पुगेको छ । आव ०७९÷८० मा भने २८ करोड ३४ लाख २० हजार पाँच सय ९७ वटा यस्ता कारोबार भएको तथ्यांक छ ।

वालेट कारोबारमा ६७.२६ प्रतिशतको वृद्धि

वालेटबाट हुने भुक्तानी पनि ६७.२६ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा तीन खर्ब दुई अर्ब ६९ करोडबराबरको वालेट कारोबार भएको थियो । गत आवमा त्यस्तो कारोबार पाँच खर्ब ६ अर्ब ३१ करोड ४७ लाख रुपैयाँ पुगेको छ । आव ०७९/८० मा भने दुई खर्ब १९ अर्ब ८० करोड ६७ लाखको कारोबार भएको थियो ।

तथ्यांकअनुसार संख्याका आधारमा वालेट कारोबार ३६.११ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा २९ करोड ४५ लाख ४३ हजार ६ सय ९६ वटा वालेट कारोबार भएको थियो । गत आवमा भने त्यस्तो संख्या ४० करोड नौ लाख २९ हजार ८३ पुगेको छ । दुई वर्षअघि आव ०७९/८० मा यस्तो कारोबार संख्या भने २१ करोड ३३ लाख ६७ हजार एक सय ४४ थियो ।

गत आवमा क्युआर भुक्तानीमा भने ९१ प्रतिशतको वृद्धि देखिएको छ । आव ०८०/८१ मा चार खर्ब ९९ अर्ब ७९ करोड रुपैयाँबराबरको क्युआर भुक्तानी भएको थियो । गत आवमा त्यो नौ खर्ब ५८ अर्ब ३८ करोड २६ लाख रुपैयाँ पुगेको तथ्यांकमा उल्लेख छ । आव ०७९÷८० मा यस्तो कारोबार दुई खर्ब ४५ अर्ब ४१ करोड रुपैयाँ थियो ।

संख्याका आधारमा क्युआर भुक्तानी ८६.४४ प्रतिशतले बढेको छ । आव ०८०/८१ मा १६ करोड ९३ लाख ४६ हजार चार सय ६७ वटा क्युआर भुक्तानी भएको थियो । गत आवमा त्यस्तो संख्या भने ३१ करोड ५७ लाख ४२ हजार २९ वटा पुगेको छ । आव ०७९/८० मा सात करोड ८० लाख २९ हजार दुई सयवटा यस्ता कारोबार भएको तथ्यांक छ ।

पछिल्लो तीन आर्थिक वर्षको तथ्यांक हेर्दा वालेट प्रयोगकर्ताको संख्यामा उच्च वृद्धि देखिएको छ । असार ०८० सम्म वालेट प्रयोगकर्ताको संख्या एक करोड ८९ लाख ४१ हजार सात सय ९३ रहेको थियो । आव ०८१ असारसम्म आउँदा त्यो २४ प्रतिशतले बढेर दुई करोड ३४ लाख ६१ हजार एक सय सात पुगेको थियो । असार ०८२ सम्म आउँदा त्यो १४ प्रतिशतले बढेर दुई करोड ६७ लाख ६५ हजार ६ सय ६० पुगेको देखिन्छ ।

यस्तै, ०८० असारसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड १३ लाख ६३ हजार नौ सय ८९ रहेको थियो । असार ०८१ सम्म आउँदा त्यो १५ प्रतिशतले बढेर दुई करोड ४६ लाख ४८ हजार आठ सय ४६ र असार ०८२ सम्म आउँदा १२ प्रतितले बढेर दुई करोड ७७ लाख ४१ हजार दुई सय ८४ पुगेको छ ।

असार ०८० सम्म वालेट प्रयोगकर्ताभन्दा २४ लाख २२ हजार एक सय ९६ बढी मोबाइल बैंकिङका प्रयोगकर्ता थिए । असार ०८२ सम्म आउँदा यी दुईका प्रयोगकर्ता करिब बराबरको अवस्थामा आएका छन् । अहिले वालेटभन्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या नौ लाख ७५ हजार ६ सय २४ ले मात्रै बढी छ । अर्थात्, वालेट प्रयोगकर्ताको संख्या पनि उच्च दरमा बढ्दै आएको छ । यद्यपि, यसमा दोहोरोपना पनि रहेको छ ।

अहिले नेपालमा सञ्चालित सबै बैंकले मोबाइल बैंकिङ सेवा दिएका छन् । यीबाहेक २२ भुक्तानी सेवाप्रदायकले वालेट सञ्चालन गर्दै आएका छन् । यस्तै, विभिन्न नौ भुक्तानी प्रणाली सञ्चालक पनि सञ्चालनमा छन् । जसले भुक्तानीको प्रणाली विकास गर्ने, व्यावसायिक ग्राहक (मर्चेन्ट)लाई क्युआर कोड प्रदान गर्नेलगायतका सुविधा दिँदै आएका छन् ।

पछिल्लो तीन आवको तथ्यांक हेर्दा मोबाइल बैंकिङ, वालेट र क्युआर भुक्तानी बढ्दै गएको देखिएको छ । अहिले अधिकांश ग्राहकसँग स्मार्ट फोन छ । त्यसमा वालेट र मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको तथ्यांकले पुष्टि गरेको छ । साथै, त्यसबाट क्युआर भुक्तानी पनि बढेको छ ।

‘क्यासलेस सोसाइटी’

नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गरेपछि ‘क्यासलेस सोसाइटी’ को अवधारणा बलियो हुँदै गएको छ । यसको प्रत्यक्ष असर मानव संसाधनमा परेको छ । काउन्टरमा नगद जम्मा/निकासी गर्ने कर्मचारी घट्दैछन् । चेक क्लीयरिङमा लाग्ने कर्मचारी संख्यामा कमी आएको छ । शाखा विस्तारको सट्टा डिजिटल शाखा बढाइएको छ ।

एक बैंकका सिइओले भने, ‘पहिले एक शाखा सञ्चालन गर्न कम्तीमा १५–२० कर्मचारी आवश्यक पथ्र्यो । तर अहिले मोबाइल एप र डिजिटल भुक्तानीका कारण त्यही शाखा ५–७ जनाले सहजै धानिरहेका छन् ।’

२०२७ सम्मको प्रक्षेपण : अझै चुनौतीपूर्ण

अन्तर्राष्ट्रिय अनुसन्धान संस्था म्याकिन्से एण्ड कम्पनी ले २०२७ सम्म विश्वभर बैंकिङ क्षेत्रमा ५०% भन्दा बढी ‘रिपिटेटिभ वर्क’ एआइले प्रतिस्थापन गर्नेछ भन्ने निष्कर्ष निकालेको छ ।

नेपालको सन्दर्भमा पनि यो प्रभाव प्रत्यक्ष देखिने अनुमान छ 

कस्टमर सपोर्ट — ८०% सम्म एआइद्वारा प्रतिस्थापन

कर्जा मूल्यांकन— डिजिटल स्कोरिङ टुलमार्फत स्वचालित

रिपोर्टिङ र लेखापरीक्षण — सफ्टवेयरमा आधारित

रिस्क म्यानेजमेन्ट — एआइ आधारित पूर्वानुमान प्रणालीले गर्ने

यसको अर्थ, सन २०२७ सम्म पुगेपछि नेपालका बैंकहरूमा हजारौं रोजगारी जोखिममा पर्न सक्छन् ।
रोजगारी संकट मात्र होइन, अवसर पनि

यद्यपि, प्रविधिले केवल चुनौती मात्र ल्याएको छैन, अवसर पनि जन्माएको छ ।

साइबर सुरक्षा विशेषज्ञ ” डिजिटल बैंकिङ बढेसँगै साइबर सुरक्षा उच्च प्राथमिकतामा आएको छ ।

डेटा विश्लेषक र एआइ इन्जिनियर : बैंकिङ सेवामा ठूलो डेटा व्यवस्थापनका लागि माग बढ्दैछ ।

डिजिटल मार्केटिङ र यूजर एक्सपिरियन्स डिजाइनर : नयाँ पुस्तालाई आकर्षित गर्न यी रोजगारीहरू आवश्यक छन् ।

तर अझै केही चुनौती छन् :

ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँचको कमी

प्रविधि नबुझेका वृद्ध/वृद्धालाई सेवा लिन कठिनाई

साइबर ह्याकिङ र ठगी बढेको अवस्था

यसैले, प्रविधि विस्तारसँगै जनचेतना, साइबर सुरक्षा र प्रविधि पहुँच सुनिश्चित नगरेसम्म समस्या समाधान हुँदैन ।

भविष्यको बाटो : के गर्न सकिन्छ ?

१. कर्मचारीलाई पुनःप्रशिक्षण

बैंकहरूले आफ्ना कर्मचारीलाई डिजिटल स्किल, डेटा एनालिटिक्स, एआइ सम्बन्धी तालिम दिनुपर्छ ।

२. नयाँ रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी

फिनटेक स्टार्टअप, साइबर सुरक्षा, ब्लकचेन टेक्नोलोजीमा लगानी बढाउनुपर्छ ।

३. ग्रामीण डिजिटल पहुँच विस्तार

नेपाल जस्तो मुलुकमा ग्रामीण क्षेत्रमा डिजिटल पहुँच नपुगेसम्म प्रविधि सबल हुँदैन ।

४. मानव–मेसिन सहकार्य

एआइलाई मानवको विकल्प होइन, सहयोगीको रुपमा प्रयोग गर्ने नीति लिनुपर्छ ।

सन् २०२७ सम्मको प्रक्षेपणले बैंकिङ रोजगारी अझ अनिश्चित र प्रविधिनिर्भर हुनेछ । तर यो केवल संकट मात्र होइन, अवसर पनि हो । नेपालले समयमै रणनीति बनाउन सके बैंकिङ क्षेत्रमा रोजगारीको स्वरूप फेरिए पनि नयाँ अवसरको ढोका खुल्नेछ ।