२०८२ आश्विन २ गते

अर्थतन्त्र गतिशील बनाउन स्वदेशी लगानीलाई प्राथमिकता दिन आवश्यकः गभर्नर

बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई गतिशील बनाउन पहिलो प्राथमिकता स्वदेशी लगानीलाई नै दिनुपर्ने बताएका छन्।

बिहीबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्दै उनले भने, ’स्वदेशमा लगानीको वातावरण सुदृढ पार्न सकियो भने अर्थतन्त्रमा गतिशीलता ल्याउन लामो समय लाग्दैन।’ उनले विदेशी लगानी आकर्षित गर्नु अघि स्वदेशी लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

गभर्नर पौडेलले कानुनी स्पष्टता र सुशासनको महत्व पनि औँल्याए। उनले भने,’कतिपय अवस्थामा कानुनी अस्पष्टताका कारण काममा समस्या आएको छ। कानुनको भाव अनुसार स्पष्टता हुनु जरुरी छ।’

जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आवश्यक स्रोतको व्यवस्था हुने उनले बताए। उनले भने,’पुनर्निर्माणका लागि स्रोत महत्वपूर्ण भए पनि सुशासन र प्रशासनिक कार्यक्षमता सुधारभन्दा ठूलो विषय केही छैन।’

पौडेलले निजी क्षेत्रमाथि आन्दोलनका क्रममा भएको आक्रमणले व्यवसायीमा चिन्ता बढाएको भए पनि अब निजी क्षेत्रको मनोबल उच्च बनाउँदै अघि बढ्नुको विकल्प नभएको बताए। साथै राजनीतिक स्थायित्व, लगानीमैत्री वातावरण र व्यवसायीलाई संरक्षण गर्ने प्रणाली सुधार अर्थतन्त्रको विकासका लागि अत्यावश्यक भएको उनको भनाइ छ।