बैंकिङ खबर/ आजको पुस्ता जसलाई हामी जेनजी भन्छौं । यो पुस्ता डिजिटल प्रविधि, सामाजिक संजाल र विश्वव्यापी जानकारीसँग जोडिएको छ । तर, आर्थिक साक्षरता, बैंकिङ प्रणालीको बुझाइ, लगानी र उद्यमशीलताको आधारभूत ज्ञान भने अझै पनि धेरै युवामा अपूरो छ । पैसा कमाउने मात्र होइन, सुरक्षित राख्ने, लगानी गर्ने र भविष्यको योजना बनाउन बैंकिङ नलेज अत्यावश्यक हुन्छ । यही कारणले, जेनजी पुस्ताले बुझ्नैपर्ने सात वटा आधारभूत विषय यहाँ प्रस्तुत गरिएको छ ।
१.बैंकवित्त भनेको के हो ?
बैंकवित्त भन्नाले बैंकिङ प्रणाली र वित्तीय क्षेत्रसँग सम्बन्धित सम्पूर्ण क्रियाकलापलाई बुझ्न सकिन्छ । यसमा मुख्यतया बैंकमा पैसा जम्मा गर्ने,आवश्यक परे कर्जा लिने,भुक्तानी गर्ने, लगानी गर्ने, बीमा, शेयर, र पूँजी बजारसँग जोडिने विषयहरू यस अन्तर्गत पर्दछन् ।
बैंक भनेको के हो ?
बैंक एउटा यस्तो संस्था हो जसले आम नागरिकबाट साना–साना बचत संकलन गर्छ र त्यसैलाई व्यवसाय, उद्योग, र अन्य क्षेत्रमा लगानीका लागि कर्जा स्वरूप उपलब्ध गराउँछ । यसरी, बैंकले जम्मा गर्ने र ऋण दिने दुबै काम गर्छ ।
बैंकवित्त किन महत्वपूर्ण छ ?
-अर्थतन्त्रको मेरुदण्ड हो ।
-व्यक्तिगत जीवनमा आर्थिक सुरक्षा दिन्छ ।
-पैसाको मूल्य बढाउन सहयोग गर्छ ।
-बजारमा कारोबारलाई सजिलो बनाउँछ ।
-राष्ट्रको वित्तीय स्थिरतामा प्रत्यक्ष प्रभाव पार्छ ।
जेनजी पुस्ताले बैंकवित्त केवल पैसाको कारोबार मात्र नभइ विश्वास, अनुशासन र पारदर्शिताको आधारमा टेकेको एउटा प्रणाली हो भनेर बुझ्नुपर्ने देखिन्छ ।
२. बैंकका प्रकारहरू
नेपालमा प्रचलित बैंक र वित्तीय संस्थाहरूलाई नेपाल राष्ट्र बैंकले क वर्ग, ख वर्ग, ग वर्ग, र घ वर्ग मा विभाजन गरेको छ ।
(क) वाणिज्य बैंक
सबैभन्दा ठूला बैंकहरू यसमा पर्छन् । देशभरी शाखा विस्तार हुन्छ । विदेशी व्यापार, अन्तर्राष्ट्रिय भुक्तानी गर्न सक्छन्। उदाहरणः नेपाल बैंक लिमिटेड, नबिल बैंक, ग्लोबल आईएमई बैंक यसका उदाहरण हुन् । नेपालमा हाल २० वटा वाणिज्य बैंकहरु रहेका छन् ।
(ख) विकास बैंक
मध्यम आकारका बैंकका रुपमा यस बैंकलाई लिन सकिन्छ । विशेष गरी क्षेत्रीय तथा स्थानीय स्तरमा उद्यमशीलता र व्यवसाय प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यका साथ स्थापना भएको बैंक हो ।
तराई, पहाड र दुर्गम क्षेत्रमा ध्यान दिँदै कर्जा दिने बैंक हो ।
(ग) वित्त कम्पनी
सीमित दायरामा बैंकिङ सेवा दिने संस्था वित्त कम्पनी हो । साधारण निक्षेप संकलन, साना व्यवसायलाई कर्जा, गाडी÷घर कर्जा जस्ता सुविधा दिने वित्त कम्पनी हो ।
(घ) माइक्रोफाइनान्स
ग्रामीण क्षेत्रमा केन्द्रित कम्पनीहरु माइक्रोफाइनान्स हो । गरिब तथा सीमान्तकृत समुदायलाई सानो रकममा कर्जा दिने कम्पनी माइक्रोफाइनान्स हो । समूह बचत, महिला सशक्तिकरण र आत्मनिर्भरता बढाउने उद्देश्यका साथ स्थापना भएका कम्पनीका रुपमा माइक्रोफाइनान्सका रुपमा लिन सकिन्छ ।
३. ब्याजदर र करिडोर
ब्याजदर
ब्याजदर भनेको पैसा उधारो लिएबापत तिर्नुपर्ने लागत हो ।
बैंकमा बचत गर्नेले ब्याज कमाउँछन्।
बैंकबाट ऋण लिनेले ब्याज तिर्छ।
ब्याजदर किन महत्वपूर्ण छ ?
-लगानी गर्ने निर्णयमा प्रत्यक्ष असर पार्छ ।
-उच्च ब्याजदर भएमा व्यवसाय विस्तार महँगो हुन्छ ।
-न्यून ब्याजदर भएमा लगानी र खर्च बढ्छ ।
मौद्रिक करिडोर
-नेपाल राष्ट्र बैंकले ब्याजदरलाई निश्चित दायराभित्र राख्न करिडोर प्रणाली प्रयोग गर्छ ।
-सात दिने निक्षेप सुविधा न्यूनतम ब्याजदर ।
-सात दिने ऋण सुविधा अधिकतम ब्याजदर ।
-यी बीचको औसतलाई नीति दर भनिन्छ ।
यसको उद्देश्यः
-मुद्रास्फीति नियन्त्रण गर्ने,
-बजारमा तरलता सन्तुलन गर्ने,
-बैंकहरूले मनपरी ब्याजदर नलगाउने सुनिश्चित गर्ने ।
४. उद्यमशीलता र कर्जा
जेनजी पुस्तामा उद्यमशीलताको भावना बलियो हुँदै गएको छ । सबै सरकारी जागिर पाउँदैनन्, त्यसैले स्टार्टअप व्यवसाय, नवप्रवर्तन र स्व–रोजगार को बाटो रोज्नु समयसापेक्ष हुन्छ ।
कर्जाको भूमिका
-बैंकले व्यवसाय सुरु गर्न आवश्यक पूँजी उपलब्ध गराउँछ।
-युवालाई आफ्नै व्यवसाय सुरु गर्न प्रोत्साहन दिन ‘युवा उद्यमशीलता कर्जा’, ‘कृषि कर्जा’, ‘विदेशबाट फर्किएका युवाका लागि कर्जा’ जस्ता योजनाहरू ल्याइएको छ ।
कर्जा लिनु अघि सोच्नुपर्ने कुरा
-व्यवसाय योजना कत्तिको व्यवहारिक छ ?
-ऋण तिर्न सक्ने क्षमता छ कि छैन ?
-बैंकसँगको सम्बन्ध पारदर्शी र अनुशासित राख्ने।
-जेनजीले कर्जा केवल ऋणको बोझ होइन, सही व्यवस्थापन गरेमा अवसर पनि हो भन्ने बुझ्नु पर्दछ ।
५. स्टार्टअप व्यवसाय
स्टार्टअप भन्नाले नयाँ विचारमा आधारित, उच्च सम्भावना तर जोखिमयुक्त व्यवसायलाई बुझिन्छ ।
स्टार्टअपको विशेषता
-नवीनतम विचार वा समाधान।
-प्रारम्भिक चरणमै ठूलो लगानी आवश्यक नपर्न सक्छ।
-छिटो बढ्ने सम्भावना हुन्छ ।
-प्रविधि, इन्टरनेट, डिजिटल प्लेटफर्मसँग जोडिएको हुन्छ।
नेपालमा स्टार्टअपको सम्भावना
-ई–कमर्स
-डिजिटल पेमेन्ट
-फूड डेलिभरी
-कृषि–टेक, पर्यटन–टेक, शिक्षा–टेक आदि।
स्टार्टअप र बैंकिङ सम्बन्ध
बैंकहरूले स्टार्टअपलाई कर्जा दिन हिच्किचाउने गर्छन्, किनभने जोखिम बढी हुन्छ । तर, सरकारले नवप्रवर्तनशील व्यवसायलाई प्रोत्साहन गर्न स्टार्टअप फण्ड र उद्यमशीलता अनुदान को व्यवस्था गर्दै आएको छ ।
जेनजी पुस्ताले नवीन सोच र वित्तीय अनुशासन मिलाएर स्टार्टअपलाई बलियो बनाउन सक्छ ।
६. लगानी, नाफा र घाटा
लगानी
भविष्यमा फाइदा (नाफा) कमाउने अपेक्षामा आज गरिएको खर्चलाई लगानी भनिन्छ । उदाहरणः बैंकमा पैसा जम्मा गर्नु, सेयर खरिद गर्नु, जमिन वा घरमा पूँजी लगानी गर्नु, व्यवसाय सञ्चालन गर्नु।
नाफा
-लगानीबाट आएको आम्दानी खर्चभन्दा बढी भएमा नाफा हुन्छ।
घाटा
-खर्च आम्दानीभन्दा बढी भएमा घाटा हुन्छ।
-जेनजी पुस्ताले सिक्नुपर्ने कुरा
-लगानीमा सधैं जोखिम हुन्छ।
-उच्च नाफा पाउन खोज्दा उच्च जोखिम पनि हुन्छ ।
-विभिन्न क्षेत्रमा लगानी गरेर जोखिम कम गर्न सकिन्छ।
नेपालमा लगानीका प्रमुख क्षेत्रहरू
-बैंकिङ निक्षेप
-शेयर बजार
-म्युचुअल फण्ड
-सहकारी संस्था (तर ध्यानपूर्वक)
-रियल स्टेट (जग्गा–घर)
-उद्यमशील व्यवसाय
७. केन्द्रीय बैंक र बैंकिङ प्रणाली
केन्द्रीय बैंक
नेपालको सन्दर्भमा, नेपाल राष्ट्र बैंक नै केन्द्रीय बैंक हो।
राष्ट्र बैंकका प्रमुख कार्यहरू
-मुलुकको मौद्रिक नीति बनाउने।
-मुद्रास्फीति नियन्त्रण गर्ने।
-बैंक र वित्तीय संस्थालाई नियमन र निरीक्षण गर्ने।
-विदेशी विनिमय दर स्थिरता कायम गर्ने।
-अन्तिम ऋणदाताको भूमिका खेल्ने।
-अर्थतन्त्रमा तरलता सन्तुलन गर्ने।
बैंकिङ प्रणाली
नेपालमा बैंकिङ प्रणाली चार तहमा फैलिएको छ ।
केन्द्रीय बैंक (नेपाल राष्ट्र बैंक)
वाणिज्य बैंक
विकास बैंक, वित्त कम्पनी
माइक्रोफाइनान्स र सहकारी संस्था
जेनजी पुस्ताको लागि सन्देश
बैंकिङ प्रणालीमाथि विश्वास राख्नु ।
डिजिटल पेमेन्ट र मोबाइल बैंकिङको सदुपयोग गर्नु ।
कालोबजारी, अवैध वित्तीय कारोबार र ह्वाइट मनी–ब्ल्याक मनीको अन्तर बुझ्नु ।
राष्ट्र बैंकको नीतिहरू युवाको जीवनसँग प्रत्यक्ष सम्बन्धित हुन्छन् भन्ने कुरा आत्मसात गर्नु ।
जेनजी पुस्ताले बैंकिङ र वित्तलाई आफ्नो भविष्यको जीवनदर्शन को हिस्सा बनाउनैपर्छ ।
पैसाको सही ज्ञान बिना, भविष्य असुरक्षित हुन्छ। तर, सही बैंकिङ नलेज र उद्यमशील सोच भएको जेनजी पुस्ताले मात्र समृद्ध नेपाल को सपना साकार गर्न सक्छ ।